काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले ‘मिलेनियम च्यालेन्ज कर्पोरेस’ ९एमसिसी० सम्झौताबारेको निर्णय राष्ट्रिय हितलाई ध्यानमा राखेर गरिने बताउनुभएको छ ।
प्रेस सङ्गठन नेपाल, उपत्यका प्रदेश कमिटीका पदाधिकारीसँग आफ्नो निवास हात्तिवनमा आज कुराकानी गर्दै प्रवक्ता श्रेष्ठले एमसिसीलाई राष्ट्रिय हितका आधारमा हेरेर निर्णयमा पुगिने स्पष्ट पार्नुभएको हो ।
प्रवक्ता श्रेष्ठले आफूले बागलुङको एक कार्यक्रममा ‘राष्ट्रिय हितका आधारमा त्यसबारे निर्णय हुन्छ’ भनेकामा ‘पारित हुन्छ’ भन्ने अर्थ लाग्ने गरी कतिपय सञ्चारमाध्यमले समाचार सम्प्रेषण गरेकामा ध्यानाकर्षण गराउँदै पत्रकारले विषयवस्तु अध्ययन र शब्द चयनमा संवेदनशीलता अपनाउन आग्रह गर्नुभयो ।
अमेरिकी सरकारसँगको उक्त सम्झौता अनुमोदनका लागि सरकारले सङ्घीय संसद्मा प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।
नेकपाको स्थायी कमिटीमा सो सम्झौता अमेरिकाको हिन्द प्रशान्त रणनीतिको अङ्ग भएमा पारित हुन नहुने मत व्यक्त गर्दै त्यसको निर्णय गर्ने जिम्मा सचिवालयलाई दिएको थियो ।
सरकारले उक्त सम्झौता सो रणनीतिको अङ्ग नभएकाले अनुमोदन हुने जनाउँदै आएएको छ तर नेकपा नेतृत्वकै सरकार भएकाले पार्टीको सचिवालय बैठकको निर्णयपछि मात्रै अनुमोदनको प्रस्ताव अघि बढ्ने देखिएको छ ।
त्यस्तै प्रवक्ता श्रेष्ठले नेकपाको एकता र निर्वाचनबाट जनमत प्राप्तिसँगै शान्तिपूर्ण प्रतिस्पर्धा र उन्नत लोकतन्त्रको मार्गबाट नयाँ ढाँचाको वैज्ञानिक समाजवाद स्थापनाको लक्ष्यका साथ नेकपा अघि बढेको बताउनु भयो ।
प्रवक्ता श्रेष्ठले समृद्धि र समाजवादको कार्यभार पूरा गर्न नेकपाको ध्यान केन्द्रित हुनुपर्ने बताउनु भएको छ ।
आफूहरुले परम्परागत संसदीय गणतन्त्र वा कम्युनिष्ट शक्तिले सत्ता कब्जा गरेपछिको शासकीय अवस्थाबाट नभई एक्काइसौँ शताब्दीको नेपालको विशेषता र आवश्यकतानुकूल ‘समाजवादउन्मुख जनताको जनवाद’को नीतिका साथ अघि बढेको उहाँले बताउनु भएको छ ।
पार्टीमा गुट, उपगुट र व्यक्तिवाद नभई संस्थागत र पारदर्शिताका आधारमा निर्णय र कार्यान्वयन हुनुपर्नेमा प्रवक्ता श्रेष्ठले जोड दिनु भएको छ ।
सो अवसरमा सङ्गठनका उपत्यका इञ्चार्ज सुरोजङ्ग पाण्डे, संयोजक नवराज दाहाल, सहसंयोजक प्रकाश सिलवाललगायतले श्रेष्ठलाई राष्ट्रियसभाका विजयी भएकामा बधाई दिँदै समृद्धि र समाजवादको लक्ष्यमा पत्रकारिता क्षेत्रले पनि रचनात्मक भूमिका निर्वाह गर्ने जनाउनुभएको थियो । सो कमिटी मातहत काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटी छन् ।