काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित सभामुख अग्नि सापकोटालाई सरकारको तर्फबाट पूर्ण र सकारात्मक सहयोग रहने बताउनुभएको छ ।
नयाँ सभामुखको चयन भएपछि मंगलबार पहिलो पटक बसेको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो ।
नवनिर्वाचित सभामुख सापकोटालाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले संविधानको रक्षा गर्न र संविधानको मर्मअनुसार बैठक सञ्चालन गर्नुहुने अपेक्षा रहेको बताउँदै आफ्नो र सरकारको तर्फबाट सभा सञ्चालका लागि पूर्ण र सकारात्मक सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सुशासन र विकासका लागि सबै एकताबद्ध हुनु आवश्यक रहेको बताउनु हुँदै प्रधानमन्त्री ओलीले सबैदल एकताबद्ध हुँदा विगतमा प्राप्त सफलता सुखद रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले सरकार लोकतान्त्रिक प्रक्रिया अवलम्बन गरी अगाडी बढेको बताउँदै प्राप्त उपलब्धीको स्वीकार्यता, संविधानको कार्यान्वयन, सुशासन र विकासका लागि सबै स्वस्थ प्रतिस्पर्धाबाट अगाडी बढ्नु पर्नेमा वताउनु भयो ।
सभामुख चयनमा केही ढिला भएपनि अब ऐन नियम र कानुन निर्माणमा ढिला नगरी एमसीसी जस्ता कतिपय महत्वपूर्ण विषयलाई पूर्णता दिनका लागि सवैले आ–आफ्नो स्थानबाट सकारात्मक भूमिका खेल्नु पर्ने प्रधानमन्त्री ओलीले बताउनु भयो ।
सन् २०२० लाई सरकारले नेपाल भ्रमण वर्षका रुपमा अघि सारेको भन्दै प्रधानमन्त्री ओलीले यसलाई सफल पार्न सरकार लागि परेको सदनलाई जानकारी गराउनु भयो ।























