काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गैर आवासीय नेपालीहरुका माग सम्बोधन गरिने बताउनु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्न पुगेका गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तलगायतसँग प्रधानमन्त्री ओलीले सरकारले आफ्नो तर्फबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले गैर आवासीय नेपाली समुदायले नेपाल र नेपाल बाहिर गरेका गतिविधीप्रति चाँसो समेत राख्नु भएको थियो ।
संघका अध्यक्ष पन्तले संसदमा विचाराधिन गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयक पारित गर्न भइरहेको ढिलाइप्रति प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराउनुभएको थियो । जवाफमा प्रधानमन्त्री ओलीले विधेयक संसदीय प्रक्रियामा रहेको र त्यसलाई छिट्टै टुंगो लगाइने आश्वासन दिनु भएको छ ।
अध्यक्ष पन्तले दोस्रो विश्व गैरआवासीय नेपाली ज्ञान सीप सम्मेलन बारे प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
यस्तै गैरआवासीय नेपालीले नेपालमा गर्न लागेको १० अर्वको सामूहिक लगानी कोषको तयारीका बारेमा पनि प्रधानमन्त्री ओलीसँग छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री ओलीले वैदेशिक रोजगारीमा रहेका श्रमिकको हितका निम्ति स्थापित कल्याणकारी कोष वृद्धि गर्न संघले गरेको पहलप्रति विशेष चाँसो राख्दै त्यसमा रहेका नीतिगत सहजताका निम्ति सघाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।
संघको भर्खरै पोखरामा सम्पन्न ७१औँ बैठकका लागि नेपाल आउनु भएका अध्यक्ष पन्त हाल विभिन्न उच्च पदस्थ व्यक्तित्व तथा सरोकारवाला निकायसँगको भेट गरिरहनु भएको छ ।