काठमाडौं । नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले संसद्प्रति जनताको आशा र विश्वास बढ्ने ढङ्गबाट आफूले सदनको कामकारबाही अगाडि बढाउने प्रतिवद्धता जनाएका छन् ।
सभामुख पदको शपथ ग्रहणलगत्तै सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पदवहाली गरेपछि पत्रकारहरुसँगको भेटघाटमा उनले सदनलाई जीवन्तरूपमा सञ्चालन गरिने बताए ।
सभामुख सापकोटाले आफ्ना प्रतिनिधिले लोकतान्त्रिक बाटोबाट छलफल गरेका छन् भन्ने जनताले अनुभव गर्नेगरी सदनलाई अगाडि बढाउँने बताए ।
प्रमाणीकरण गर्न बाँकी रहेका विधेयकलाई प्राथमिकताका आधारमा अगाडि लैजाने र विधेयकको प्राथमिकता छुट्टयाएर काम गर्ने बताए ।
आफ्नो सम्पूर्ण ध्यान संसद्मा केन्द्रित भएको वताउँदै सभामुख सापकोटाले सदनमा दर्ता भएका विधेयकका साथै सङ्कल्प प्रस्ताव, सार्वजनिक महत्वका प्रस्तावलाई प्राथमिकता क्रम छुट्टयाएर अगाडि बढाउने बताएका छन् ।
‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ ‘एमसिसी’ सम्बन्धी प्रस्ताव बारे पत्रकारहरुले राखेको जिज्ञासामा सभामुख सापकोटाले एमसिसीसम्बन्धी सहयोग लिने÷नलिने भन्नेमा नेपाली समाजमा बहस छेडिएको र बहसबाट निस्कने निष्कर्षका आधारमा निर्णय लिइने बताए ।
उनले भने “एमसिसीको सन्दर्भमा सबै सांसदको भावना समेटेर अघि बढ्छु ।”
आफ्नो बारेमा गरिएको विरोधलाई सामान्यरूपमा लिँदै उनले लोकतन्त्रमा विरोध गर्न सबैलाई छुट भएको टिप्पणी गरेका छन् ।
आफूविरुद्ध अदालतममा केही मुद्दा विचाराधीन रहेको र ती विषयमा बढी बोल्नु मनासिव नहुने बतावताउँदै सभामुख सापकोटाले भने “यस विषयमा धेरै बोल्नु परिवक्वता हुँदैन, केही विषय उठेका छन्, ती निरुपण हुँदै जान्छन् ।”
पदवहालीलगत्तै सभामुख सापकोटाले संसद्मा पेश गर्न विधेयक स्वीकृत गरेका छन् । सभामुखलाई कार्यकक्षमा सङ्घीय संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईलगायत संसद्का कर्मचारीले स्वागत गरेका थिए ।























