मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले पेस गरेको संविधान पुनःसंरचनासम्बन्धी प्रस्तावलाई सांसदहरूले छलफलबिना नै पारित गरिदिएका छन् ।
बिहीबार बसेको संसद् बैठकबाट दुई घण्टाभन्दा कम समयमै सो प्रस्ताव निर्विरोध पारित भएको अधिकारीहरूले जनाएका छन् ।
संसद्को तल्लो सदनमा रहेका कूल सांसद ४३२ जनामध्ये सबैले प्रस्तावको पक्षमा मतदान गरेको संसद्मा घोषणा गरिएको थियो ।
राष्ट्रपति पुटिनले तीन दिन अगाडि मात्रै संविधान संशोधनको आफ्नो प्रस्ताव संसद्मा प्रस्तुत गर्नुभएको थियो ।
“यसले हाम्रो शक्तिशाली एकताको सन्देश दिएको छ,” सभामुख भयाचेस्लाभ भोलोदिनले मतदानपछि भन्नुभयो ।
बिहीबार भएको मतदान पहिलो चरणको हो भने दोस्रो चरणको मतदान आगामी फेब्रुअरी ११ तारिखमा हुने अपेक्षा गरिएको छ ।
संसद्मा राष्ट्रपति पुटिन पक्षधरका सांसदहरु नै अत्यधिक रहेकाले आगामी मतदानबाट पनि उहाँको प्रस्ताव पारित हुने निश्चित जस्तै रहेको जनाइएको छ ।
राष्ट्रपति पुटिनले गत हप्ता पुनःसंरचनासम्बन्धी नयाँ प्रस्ताव तयार पार्नुभएको हो भने उहाँले प्रस्ताव ल्याएसँगै तत्कालीन प्रधानमन्त्रीले राजीनामाको घोषणा गर्नुभएको थियो ।
तत्कालीन प्रधानमन्त्रीले राजीनामा दिएपछि केहीदिनमा उहाँले नयाँ प्रधानमन्त्री र मन्त्रीहरुसमेत नियुक्त गरिसक्नु भएको छ ।
राष्ट्रपति पुटिनले नयाँ प्रस्ताव गर्नुभएको नयाँ व्यवस्थाअनुसार राष्ट्रपतिसँग रहेका कतिपय अधिकार संसद् र राज्यका अन्य विभिन्न निकायहरुलाई दिइने भएको छ । (रासस÷एएफपी)
























