काठमाडौं । प्रतिनिधि सभाको सभामुख पदका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट अग्निप्रसाद सापकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।
संघीय संसद भवन नयाँबानेश्वरमा आज उम्मेदवारी दर्ता गराउनुभएको हो । नेता सापकोटाको प्रस्तावकमा नेकपा संसदिय दलका उपनेता सुवास चन्द्र नेम्वाङ हुनुहुन्छ भने समर्थकमा नेकपाका प्रमुख सचेतक देव गुरुङ, नेकपाका नेता एवं पूर्व सभामुख ओनसरी घर्ती र राजपा नेपालका नेता लक्ष्मण लाल कर्ण रहनुभएको छ ।
उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता सापकोटाले प्रतिनिधि सभाको ओज, गरिमा र मुल्यलाई उच्च बनाइराख्न भगिरथ प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ ।
यसअघि सभामुखमा दावी गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सभामुखमा उम्मेदवारी दिएन । योसँगै सभामुखमा सापकोटाको मात्रै एकल उम्मेदवारी भएका छन् । कांग्रेसले उपसभामुखमा आफ्नो पार्टीलाई समर्थन गर्न नेकपासँग आग्रह गर्ने बताएको छ ।
सभामुख पदको निर्वाचन यहीँ माघ १२ गते हुनेछ ।
कांग्रेस संसदीय दलको मंगलबार बिहान बसेको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको थियो ।
























