काठमाडौँ । राष्ट्रियसभाको आजको वैठकले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’ पारित गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा युवराज खतिवडाले पेश गर्नुभएको उक्त विधेयक सर्वसम्मतिले पारित भएको हो ।
यसअघि बिधेयकमाथीको छलफलमा भाग लिंदै सांसदहरुले स्थानीय तह समन्वय तथा अन्तरसम्बन्ध बिधेयक २०७६ ले तीन तहबीचको सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउने बताउनुभयो ।
बैठकले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णयसमेत गरेको छ ।
बैठकमा प्रधानमन्त्रीका तर्फबाट अर्थमन्त्री डा खतिवडाले ‘नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।
राष्ट्रिय सभाको अर्को बैठक माघ १४ गते दिनको १ः०० बजे बस्नेछ ।

























