काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनका लागि माघ १२ गते निर्वाचन हुने भएको छ । आज बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा १२ गते सभामुख चयनका लागि निर्वाचन गर्ने दलहरुबीच सहमति भएको छ ।
संसद सचिवालयकी कर्मचारीमाथि यौन दुव्यवहारको आरोप लागेपछि तत्कालिन सभामुख कृष्णबहादुर महराले गत असोज १४ गते राजीनामा दिएका थिए ।
सभामुखका लागि सत्तारुढ दल नेकपाले अग्नि सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ भने उपसभामुख शिवमाया तुम्बाहाङ्फेले आजै पदबाट राजीनामा दिएकी छिन् ।
संविधान अनुसार सभामुख र उपसभामुख एउटै दलको हुन नहुने भएका कारण उपसभामुख तुम्वाहाङ्फेले राजीनामा दिएकी हुन् । अब उपसभामुख विपक्षी दलबाट हुने छन् ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले उपसभामुख आफ्नो दललाई दिन सत्तारुढ नेकपालाई आग्रह गरेको छ । उपसभामुख आफूहरुलाई दिए सभामुखमा नेकपाका उम्मेदवारलाई समर्थन गर्ने कांग्र्रेसले जनाएको छ ।
कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले यसबारेमा नेकपासँग थप छलफल गर्ने बताएका छन् । नेकपाले उपसभामुख कांग्रेसलाई नछाडे सभामुखमै कांग्रेसले उम्मेदवारी दिने नेता खाँडले बताएका छन् ।

























