काठमाडौं । उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छन् । प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उपसभामुख तुम्बाहाङ्फेले राजीनामा दिएकी हुन् ।
सभामुख चयनका लागि मार्गप्रशस्त गर्ने निष्कर्षमा पुगेर सम्मानित सदनसमक्ष राजीनामाको निवेदन गर्न चाहेको बताइन् ।
प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीको आग्रहलाई स्वीकार गर्दै उनले राजीनामा दिएको बुझिएको छ ।
आइतबार बसेको नेकपाको सचिवालय बैठकले प्रतिनिधिसभाको रिक्त सभामुख पदमा पार्टीका तर्फबाट अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।
अब सभामुख चयन नभएसम्मका लागि बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतमा राजपा अध्यक्ष मण्डलका नेता महन्थ ठाकुरले गर्ने छन् ।


























