काठमाडौं । गायिका आस्था राउतलाई पक्राउ गर्न प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति पाएको छ ।
अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतविरुद्ध पक्राउ गर्न प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा अदालतले अनुमति दिएको स्रोतले बताएको छ ।
बधुबार काठमाडौं-भद्रपुर उडानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित सुरक्षा जाँचका क्रममा प्रहरीबाट दुर्व्यवहार भएको भन्दै राउतले भिडियो सन्देश मार्फत सम्पूर्ण सुरक्षाकर्मी र सुरक्षा प्रणाली माथि नै जथाभावी गाली गलेज गरेकी थिइन् ।
उनले नेपाल प्रहरीको जरामा नै गन्ध रहेको भन्दै ‘माथि टुप्पाबाट दर्शन, यत्रो दर्शन । कस्तो दर्शन हो यो । मलजल गर । जरा नै कुहिएको छ ।’
सामाजिक सञ्जाल फेसवुकमा लाइभ दिएको आस्थाको भिडियो भाइरल भएपछि प्रहरी प्रधान कार्यालय, नक्सालले अनुसन्धानका लागि महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालयले गरेको अनुसन्धानबाट आस्थामाथि प्रहरीले दुर्व्यवहार गरेको नभइ, उनले चाहिँ महिला प्रहरी रमिला श्रेष्ठलाई अभद्र व्यवहार गरेको देखिएको प्रहरीको दाबी छ । प्रहरीले राउतमाथि कारवाहीका लागि उजुरी पनि दिएकी छिन् ।
प्रहरीलाई तुच्छ शब्दले गाली गरेको भिडियो सार्वजनिक भएपछि विवादमा तानिएकी गायिका राउतले आफूले बोलेको शब्दहरुप्रति आफैलाई ग्लानी महसुस भएको बताउँदै माफी पनि मागेकी थिइन् ।उनले शुक्रबार भिडियो लाइभमार्फत भनेकी छन्, ‘विमानस्थल घटनामा आफूले बोलेको शब्दप्रति आफैलाई ग्लानी भएको छ । संयमित भएर बोल्न सकिन, माफी चाहन्छु ।’