काठमाडौं । सत्य निरुपण तथा बेपत्ता आयोगबारे बनेको विधेयकलाई अघि बढाउन र आयोगका पदाधिकारी नियुक्ति बारे सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको शीर्ष नेताबीचको छलफलमा द्वन्द्वकालीन घटनाका विषय टुंग्याउने गरी सत्य निरुपण तथा बेपत्ता आयोगबारे बनेको विधेयकलाई अघि बढाउने विषयमा छलफल भएको हो ।
नेताहरुबीच शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन दुई आयोगलाई पुर्णता दिने विषयमा छलफल केन्द्रीत भइरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवा, नेताहरू रमेश लेखक, मिनेन्द्र रिजाल, पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलगायत सहभागी रहेको बताइएको छ ।
सातवटै प्रदेशमा आयोगबारेको विधेयकको मस्यौदामा द्वन्द्वपीडितसँग परामर्श गरेपछि नेताहरुबीच छलफल भएको हो । दुवै आयोग गत वैशाखबाट पदाधिकारीविहीन छन् । सरकारले आयोगमा पदाधिकारी सिफारिस गर्न गत चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति बनाएपनि नेताहरुवीच सहमति नवन्दा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाइ भएको छ ।
द्वन्द्वकालका बेला भएका घटनामा तत्कालीन बिद्रोहीको नेतृत्व गरेका पुष्पकमल दाहाल, सरकारमा रहेका शेरबहादुर देउवा तथा नेपाली कांग्रेस नेतृत्व, सुरक्षा निकाय तथा प्रशासन घटनाको जिम्मेवार हुनुपर्ने माग उठ्ने गरेको छ ।
द्वन्द्वपीडितले लामो समयसम्म न्याय नपाएको गुनासो गर्दै गर्दा सरकारले यी विषय टुंग्याउने गृहकार्यमा लागेको हो ।
























