काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रेशम चौधरीलाई छिट्टै जेलबाट छुटाइने प्रतिवद्धता व्यक्त गरेका छन् ।
काठमाडौंको टुँडिखेलमा आयोजित माघी महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले टीकापुर घटनामा दोषी ठहर भएर जेलमा रहेका चौधरीलाई सपथ गराउनुपर्छ र उनलाई माननीयको दर्जा दिलाउनुपर्छ भनेर आफूले नै भूमिका खेलेको बताए ।
चौधरी फरार रहेका बेला भारतमा प्रधानमन्त्रीको हैसियतमै र पक्राउ परेपछि पनि डिल्लीबजार जेलमा पुगेर भेटेको स्मरण गराउँदै प्रचण्डले टीकापुर घटनाका झुटा मुद्दा खारेज गर्नुपर्छ भनेर सरकार र पार्टीमा बहस गरिरहेको बताएका छन् ।
प्रचण्डले ढाडस दिदै भने , ‘टीकापुर घटनामा मुछिएका केही साथीहरु छुटेका छन् । रेशमलागायका साथीहरु छुट्न बाँकी छ । उनीहरुलाई पनि छुटाइन्छ, हेर्नुहोला केही समयभित्र परिणम निस्किन्छ ।’
माओवादी आन्दोलनमा लागेका, आफूसँगै भएका थुप्रै मानिस अहिले पनि जेलमा रहेको भन्दै प्रचण्डले भने, ‘जनयुद्धमा संलग्न पहाडिया बाहुन क्षेत्री नै जेलमा छन् । हिजो सेनाबाट आएर जनयुद्धमा आएकालाई पनि जेल हालिएको छ । उनीहरुलाई पनि छुटाउन मेरो आन्दोलन जारी छ ।’
‘पहिचान र अधिकारका निम्ति बहस भइरहेको भन्दै उनले नयाँ चिज लिन खोज्दा पोल्टामा भएको नखसोस् भन्नेतर्फ सचेत हुनुपर्ने बताएका छन् ।
प्रचण्डले अहिले आन्दोलनबाट विश्राम लिएर चौतारीमा सुस्केरा मारिरहेका भन्दै आफूहरु आन्दोलनमै रहेको पनि बताए ।
























