जनकपुरधाम । नदी दोहन गर्ने क्रसर उद्योग व्यवसायीबाट मारिएका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिप महतोको परिवारलाई प्रदेश २ सरकारले राहत स्वरुप पाँच लाख दिने भएको छ ।
आज बिहान बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले मृतक महतोको परिवारलाई पाँच लाख सहयोग गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवले बताएका छन् ।
महतोले अवैध उत्खनन् मार्फत नदीजन्य वस्तु तस्करीको विरोध गर्दै आएका थिए । शुक्रबार बिहान ४ बजे उत्खनन नगर्न आग्रह गर्दै खोलामा पुगेका महतोमाथि ना ७ ख ६४१३ नम्बरको टिपरले आक्रमण गरेको र उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दिलिपलाई क्रसर व्यसायी सहितका मानिसहरुले हत्या गरेको कुरा प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । दिलिपलाई चार जनाले खोलामा समातेर फलामको लिभरले दाहिने कोखमा घोची घाइते बनाई खोलामा सुताएर टिपरले किचेर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ परेका क्रसर व्यवसायी विपिन महतोले तीन दिन अगाडि दिलिपलाई हत्या गर्ने धम्की दिएका थिए ।
त्यस्तै महतो हत्याको घटनामा संलग्न भएको आरोपमा प्रहरीले महोत्तरी बर्दिबास नगरपालिका वडा नम्बर ९ का टिपर चालक ३४ वर्षीय मुनिन्द्र महतो, महोत्तरी बर्दिबासकै अनटेस्ट लोडर चालक २४ वर्षीय जितेन्द्रकुमार महतो र धनुषा मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का २७ वर्षीय रोशनकुमार यादवसमेतलाई पक्राउ गरेको छ ।