जनकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा टिपरको ठक्करबाट एक युवकको मृत्यु भएपछि त्यस क्षेत्रमा तनावग्रस्त बनेको छ । घटनाको विरोधमा स्थानीयहरुले अवरुद्ध गरेको पूर्व पश्चिम राजमार्ग खुलाउन प्रहरीले बल प्रयोग गरेको छ । प्रहरीले १० राउण्ड अश्रु ग्यास प्रहार गरेपछि चक्काजाम खुलेको छ ।
युवकको परिवारले क्रसर उद्योगीले हत्या गरेर टिपरेले किचेको आरोप लगाएका छन् । खोला उत्खनन बन्द गर्नुपर्ने आवाज उठाउँदै आएका दिलिपकुमार महतो क्रसर उद्योगीको निशानामा परेको स्थानीयले बताएका छन् । शुक्रबार विहान खोला किनारमा मर्निङवाक गएका बेला टिपरको ठक्करले मृत्यु भएको प्रहरीले जनाएको छ । तर मृतकका आफन्तले पहिला हत्या गरेको अनि त्यसपछि टिपरले किचेको आरोप लगाएका छन् ।
प्रहरीले घटनास्थलको मुचुल्कासमेत नउठाई शव परीक्षणका लागि ल्याएको भन्दै मृतकका आफन्तहरुले प्रहरीको समेत संलग्नता रहेको आशंका गरेका छन् ।
खोला उत्खननविरुद्ध आवाज उठाउँदा प्रहरीले युवालाई सहयोग नगरी क्रसर उद्योगीलाई नै सहयोग गर्दै आएको स्थानीयको आरोप छ ।
दिलिपलाई किच्ने ना.७ ख ६४१३ नम्बरको टिपर प्रहरी नियन्त्रणमा रहे पनि चालक फरार भएको बताइएको छ ।