काठमाडौँ । प्रतिनिधिसभा बैठक स्थगित गरिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आपत्ति जनाएको छ ।
आजका लागि बोलाइएको वैठक सूचना टाँस गरेर माघ ६ गते सोमबारसम्मका लागि स्थगित गरिएपछि कांग्रेसले आपत्ति जनाएको हो ।
सभामुख चयनको विषयमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कुरा मिल्न नसक्दा संसद बैठक पुस ४ गतेदेखि बस्न सकेको छैन ।
प्रकाशित सूचनामा भनिएको छ, ‘‘मिति २०७६ पुस २७ गते आइतबार दिनको १ बजे बस्ने गरी सूचना गरिएको प्रतिनिधिसभाको बैठक विशेष कारणवश बस्न नसक्ने भएकाले नेपालको संविधानको धारा ९१ को उपधारा (४) बमोजिम प्रतिनिधिसभाको अध्यक्षता गर्नुहुने माननी उपसभामुखज्यूले प्रतिनिधसभा नियमावली, २०७५ को निमय ६ को उपनियम ९३० बमोजिम अर्को बैठक मिति २०७६ साल माघ ६ गते सोमबार दिनको १ बजे बस्नेगरी निर्धारण गर्नुभएको व्यहोरा मा। सदस्यहरुको जानकरीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’’
काँग्रेसले ‘प्रतिनिधिसभाको बैठक फेरिपनि स्थगित भएको विषयलाई दुःखद भन्दै सरकार र सत्तारूढ नेकपाको संसदप्रतिको गैह्र जिम्मेवार ब्यवहारका रूपमा लिएको छ ।
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसदीय प्रणालीमा सभामुखको विशेष नेतृत्वदायी भुमिका, गरिमा र महत्त्व हुन्छ । तर ३ महीना देखि रिक्त भएको पदमा नयाँ सभामुख चयन गर्न प्रतिनिधिसभामा प्रक्रिया अघि नबढाइनु र सत्तारूढ दलभित्रको विवादको छायाँमा प्रतिनिधिसभालाई लाचार छाँया बनाउन खोज्नु आपत्तिजनक र लज्जास्पद छ ।’
स्वयं सत्तापक्षका कारण महिना दिनदेखि सदन अवरुद्ध रहेको स्थितिलाई गम्भीरतापूर्वक लिँदै नेपाली काँग्रेसले दलगत अनिर्णयको बन्दी प्रतिनिधिसभालाई नबनाउन सरकारलाई चेतावनी दिंदै तत्काल निकासको मार्ग प्रशस्त गर्न सचेत गराएको छ ।

























