काठमाडौं ।प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा मित्रराष्ट्र बंगलादेश सेनाका सेना प्रमुखको औपचारिक निमन्त्रणामा आज ७ सदस्यीय भ्रमण दलसहित नेपाली सेनाको विमानद्वारा मित्रराष्ट्र बंगलादेशतर्फ प्रस्थान गर्नुभएको छ ।
प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नु भएको थियो । उक्त अवसरमा नेपालस्थित बंगलादेशका महामहिम राजदूत, नेपाली सेनाका रथीबृन्द, नेपालस्थित बंगलादेशका सैनिक सहचारीको उपस्थिति रहेको थियो । यसअघि उहाँलाई जंगी अड्डा परिसरमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो।

भ्रमणको दौरान उहाँले बंगलादेशका विभिन्न सैनिक युनिटहरुको भ्रमण, उच्चस्तरीय पदाधिकारीहरुसँग भेटवार्तालगायत ऐतिहासिक स्थलहरुको समेत भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । औपचारिक कार्यक्रम सम्पन्न गरी प्रधानसेनापति महारथी थापा माघ ०१ गते स्वदेश फिर्ता हुनु हुने कार्यक्रम रहेको छ । उक्त भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरद कुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नु हुनेछ ।
उच्च तहको सैनिक नेतृत्ववर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेशी सेना बीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।




















