काठमाडौँ । विप्लव नेतृत्वको नेकपाका पोलिटब्युरो सदस्य मोहन कार्की लगायतका नेता, कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमका बीच अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले उनीहरुलाई पार्टीमा स्वागत गरेका छन् ।
उनीहरुलाई पार्टी प्रवेश गराउँदै दाहालले नेत्र विक्रम चन्द ‘विप्लव’ लाई पनि नेकपामा आउने आग्रह गरेका छन् । देशको स्थिति, राजनीतिक स्थायित्व, विकासका बारेमा समाजवादतिर जाने भन्ने कुरामा कम्युनिष्ट नाम भएका जति सबै एक ठाउँमा आइपुगेको बताउँदै दाहालले बाँकी रहेका सबैलाई अफ्ठ्यारो नमानी नेकपामा आउने अपिल गरेका छन् ।
उनले विप्लवले नेकपा प्रवेश गर्न ढिला गरे उनलाई पनि फाइदा नगर्ने र अरुलाई पनि फाइदा नगर्ने बताए । विप्लव कुनै न कुनै दिन नेकपामा प्रवेश गर्ने आफूलाई विश्वास रहेको पनि दाहालले बताएका छन् ।
पार्टी कार्यालय धुम्बाराहीमा भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष दाहाल, महासचिव विष्णु पौडेल लगायतका नेताहरुको सहभागिता रहेको थियो ।
नेकपामा प्रवेश गरेपछि कार्कीले विप्लवको राजनीतिक साहस, नैतिकता र इमानदारिता नदेखेर पार्टी छाडेको बताएका छन् ।























