काठमाडौं । पुस २७ गते आइतबारबाट प्रतिनिधिसभा नियमित सञ्चालन हुने भएको छ भने सोही दिनबाट सभामुख निर्वाचन प्रक्रिया समेत अघि बढ्ने बताइएको छ । प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्बाहाङ्फेले प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग आज छलफल गरेपछि संसद बैठक सुचारु गर्ने सहमति भएको हो ।
आउँदा दिनहरुमा संसद कसरी सञ्चालन गर्ने र सभामुखको निर्वाचन प्रक्रिया कसरी अगाडि बढाउने भन्ने विषयमा उनले छलफल गरेकी थिइन् । सत्तारुढ दलको परामर्श समेत आवश्यक भएकाले उपसभामुख तुम्बाहाङफेले चासो देखाएको बताइएको छ । यसअघि रिक्त सभामुख पदमा कसले उम्मेदवारी दिने भन्नेमा सत्तारुढ दलभित्र एकमत नहुँदा प्रतिनिधि सभा बैठक पटकपटक सर्दै आएको छ ।
पटकपटक संसद बैठक स्थगित हुँदा त्यसले राम्रो सन्देश नजाने भन्दै उपसभामुख तुम्बाहाङ्फेले सदन सुचारु गर्न सत्तारुढ दलका नेता र प्रधानमन्त्रीसँग छलफल गरेको हुन् ।
प्रतिनिधि सभाको अर्को बैठक पुस २७ गते बोलाइएको छ । तर त्यसबेलासम्म पनि सभामुखको बारेमा टुंगो लाग्ने नलाग्ने निश्चित भइसकेको छैन । तर वैठक भने चलाउने सहमति भएको बताइएको छ ।
नेताहरुसँगको छलफलमा तुम्बाहाङफेले आफ्नो राजीनामाबारे केही कुरा नभएको बताएकी छिन् ।
























