काठमाडौं । ऐतिहासिक गढी तथा किलको संरक्षण र संवद्र्धन गर्न नेपाली सेनाले माघ २ देखि ५ गतेसम्म एकीकरण मार्गसम्बन्धी वृहत छलफल कार्यक्रम गर्ने भएको छ । जंगी अड्डाको सभामण्डपमा हुने कार्यक्रममा मन्त्री, वरिष्ठ पदाधिकारी, पूरातत्वविद, इतिहासविद, भूगोलविद, पर्यटन व्यवसायी, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि, गैर सरकारी संसथाका प्रतिनिधिलगायत सहभागी हुने नेपाली सेनाले जनाएको छ ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले माघ २ गतेको ११:०० बजे उद्घाटन गर्ने कार्यक्रमको अवधारणा, नेपाल भ्रमण वर्ष २०२० मा नेपाली सेनाको सहभागिता, नेपालको ऐतिहासिक गढी तथा किल्लाको प्रोफाइल निर्माण, एकीकरण मार्ग कार्यक्रम सम्बन्धि वृत्तचित्र प्रदर्शन गरिने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
सेमिनारमा संग्रहालयहरुको अवस्था र कानूनी अवस्था, एकीकरण मार्ग कार्यक्रमसम्बन्धी प्यानल छलफललगायत अन्य समसामयिक विषयवस्तुमा छलफल गर्ने सेनाले जनाएको छ । यस्तो सेमिनारले ऐतिहासिक सम्पदाको रुपमा रहेको गढी तथा किल्लाहरुको संरक्षण एवं सम्वर्धन भई राष्ट्रिय एकताको भावना जगाउन महत्वपुर्ण भुमिका खेल्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ । सेमिनारको समापन भने उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलबाट माघ ५ गतेको १५ः५० बजे हुने बताइएको छ ।



















