काठमाडौँ । पुस २१ गते बसेको मन्त्रिपरिषद्ले विभिन्न १४ वटा निर्णय गरेको छ । बिहीबार सूचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रालयमा नियमित पत्रकार सम्मेलन मार्फत मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गरेका हुन् ।
वैठकले द्विपक्षीय र बहुपक्षीय लगानी सम्झौताको कार्यान्वयनमा सिर्जना भएका वा हुने विवादहरुको निरुपण गर्नका लागि अर्थमन्त्रालयका सचिवको संयोजकत्वमा ८ सदस्सीय आवश्यक तयारी संयन्त्र गठन, धितोपत्र बोर्डको अध्यक्षमा भीष्मराज ढुंगानालाई नियुक्त, पानीजहाज दर्ता, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनुका साथै महाकाली सिंचाइ आयोजनाको नहल निर्माणका लागि बन प्रयोग गर्न स्वीकृति, मोबाइल सेवा प्रदायक स्मार्ट टेलिकम र नेपाल स्याटेलाइट टेलिकम (हेलो नेपाल), वेब सर्फर कम्युनिकेसनको अनुमतिपत्र (लाइसेन्स) खारेज गर्ने नेपाल दूरसञ्चार प्राधिकरणको निर्णय बदरलगायतका १४ निर्णय गरेको छ ।
वैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले सुरक्षण मुद्रणबारे संसदीय समितिले अध्ययन गरेर दिने निर्देशन सरकारलाई मान्य हुने बताए ।
मन्त्री बास्कोटाले सुरक्षण मुद्रणबारे झण्डै हजार पेजको डकुमेन्ट रहेको र सबै समितिमा पठाइदिने पनि बताएका छन् । प्रेस चाहिने/नचाहिने, प्रक्रिया पुगे/नपुगेको छलफल गरेर निर्णय पठाइ समितिलाई आग्रह पनि गरेका छन् । ६/७ लाखमात्र पासपोर्टको बाँकी रहेकाले छिट्टै निर्णय होस् भन्ने सरकारले चाहेको बताउँदै मन्त्री बास्कोटाले समितिको निष्कर्ष सरकारलाई मान्य रहेको बताएका छन् ।


























