काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बोलाएको भेलाका लागि काठमाडौं आएका जिल्ला सभापतिहरुलाई आफ्नै निवास बुढानिलकण्डमा सामूहिक भोज आयोजना गरिएको थियो ।
महाधिवेशनको कार्यतालिका, भातृसंस्था र पार्टीका विभागलाई लिएर कांग्रेसमा पौडेल समूहले असन्तुष्टि व्यक्त गर्दै आइरहेको छ। पौडेल समूहले वहिष्कार गरेकै बैठकबाट सभापति देउवा पक्षले यी तिनै विषयमा निर्णय गरेपछि निर्णय एकलौटी भएको भन्दै उनीहरुले पार्टी नेतृत्वविरुद्ध दबाब दिँदै आएका छन्।
पार्टीमा फरक विचार राख्नेलाई पेलेरै जान खोजेको भन्दै पौडेल समूहले आफू पक्षीय जिल्ला सभापतिहरुको भेला बोलाएको थियो। सोही भेलामा आएका सभापतिहरुसँग बिहीबार बिहान सभापति देउवाले छलफल गरेका हुन्। सभापति देउवाले आफ्ना आलोचकहरुलाई शान्त तुल्याउन दिवाभोज कूटनीति गरेका हुन् । जिल्ला सभापतिहरुसँगको छलफलमा सभापति देउवाले १४ औं महाधिवेशनको मिति तलमाथि नहुने स्पष्ट पारेका छन् । संस्थापन इतर समूहले बोलाएको परामर्श बैठकमा सहभागी हुन काठमाडौं आएका कांग्रेसका ५२ जिल्ला सभापतिहरुलाई निवासमा बोलाएर सभापति देउवाले आज दिवा भोज समेत दिएका छन् । उनले पार्टीलाई सहमतिकै आधारमा अघि बढाउन आफू तयार रहेको र त्यसका लागि प्रयास पनि भएको बताए । वरिष्ठ नेता रामचन्द्र पौडेलसँग धेरै पटक छलफल गर्दा पनि सहमति हुन नसकेपछि पार्टीलाई अनिर्णयको बन्दी हुन नदिन पुस ११ गते वहुमतमा आधारमा निर्णय गर्न आफू वाध्य भएको देउवाले बताएका छन् ।

सभापति देउवाले महाधिवेशनको मिति २०७७ फागुन ७ भने परिर्वतन नहुने अडान राख्दै अरु कार्यतालिका मिलाउन र क्रियाशील सदस्यता छानबिनका लागि समिति बनाउन तयार स्पष्ट गरेका छन् ।
पार्टीमा विधि, पद्धतिलाई पनि ख्याल गर्नुपर्ने भन्दै सभापति देउवाले पौडेलले एक पक्षीय सभापतिहरुले भेला गरेको र सभापतिहरु सहभागि भएको भन्दै असन्तुष्टि पनि जनाएका छन् । त्यसको जवाफमा सभापतिहरुले पार्टीप्रति चिन्ता र चासो भएका कारण आफूहरु भेला भएको वताउँदै सभापति देउवाले बोलाए पनि सहभागि हुने स्पष्ट गरेको बताइएको छ ।
जिल्ला सभापतिहरुसँगको भेटमा उपसभापति विमलेन्द्र निधिले पौडेल समूहसँग भएको सहमति प्रयासबारे जानकारी दिएका थिए भने महामन्त्री पूर्णबहादुर खड्काले विधान संशोधनबारे जानकारी दिएका थिए । पौडेल पक्षका झण्डै एक दर्जन सभापति अनुपस्थित थिए भने केही संस्थापनपक्षीय जिल्ला सभापति समेत सहभागी थिए। सभापति देउवासँगको भेटमा असन्तुष्ट पक्षले लिखित असन्तुष्टि राखेका छन् ।
























