काठमाडौं । काँग्रेस संस्थापन इतरपक्षको सोमवारदे िखजारी जिल्ला सभापतिसँगको परामर्श आज पनि जारी छ । सानेपास्थित पार्टी कार्यालयमा इतर पक्षका केन्द्रीय नेता र ५१ जिल्ला सभापतिबीच आन्तरिक परामर्श बैठकमा जिल्ला सभापतिको आफ्नो धारणा राख्ने क्रम जारी छ । छलफल पछि घोषणापत्रसमेत जारी गर्दै बैठक समापन गर्ने तयारी भइरहेको एक नेताले बताएका छन् । सभापति शेरबहादुर देउवालाई दवाव दिन भइरहेको परामर्श वैठकको प्रमुख उद्देश्य पुस ११ गतेको केन्द्रीय समितिबाट बहुमतका आधारमा भएका निर्णय सच्याउनुपर्ने बटमलाइन रहेको छ ।
वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले पुस ११ गते वहुमतका आधारमा भएको निर्णयहरु खारेज गर्नुपर्ने माग गर्दै आएको छ । पुस ११ गते १४औँ महाधिवेशनको कार्यतालिका, केन्द्रीय कार्यसमितिको म्याद थप, क्रियाशील सदस्यता सम्बन्धित विधानको दफा निलम्बन गर्ने निर्णय भएको थियो ।
केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरू पनि बुथबाटै प्रत्यक्ष निर्वाचित भएर आउने प्रावधान राख्न जिल्ला सभापतिले जोड दिएका थिए । उनीहरूको सुझाव केन्द्रीय समिति बैठकमा सुनाइ हुने देउवा र पौडलले वाचा गरेका थिए । केन्द्रीय समितिबाट विधान पारित गराउने क्रममा पौडेलले अडिएको उनीहरूको गुनासो थियो । उनीहरूले ‘भागबण्डा नमिल्दा हामी चाहेने’ भन्दौ पौडेलसँग पनि असन्तुष्टि जनाएका छन् ।
जिल्ला सभापतिहरुले पौडेल–सिटौला समूह मर्ज भएर महाधिवेशनमा होमिनु पर्नेमा पनि जोड दिएका छन् । फरक गुटको प्रतिनिधित्व गर्दा गुटगत स्वार्थ बाझिदा देउवालाई सहज भएको जिल्ला सभापतिको निष्कर्ष छ ।
५१ जिल्लाका पार्टी सभापतिहरुले दवाव दिएपछि सभापति देउवाले त्यस्तो निर्णय सच्याउन तयार रहेको संकेत दिएका छन् । जिल्ला सभापतिहरुको भेलाले सभापति देउवालाई ठूलो दवाव पुगेको देखिन्छ । देउवा निकट नेताहरुले त्यस्तो संकेत गरेका हुन् ।
पार्टीको पछिल्लो विवाद समाधानका लागि अग्रसरता देखाएका देउवा निकट केन्द्रीय सदस्य एनपी साउदले महाधिवेशनको तिथि, मिति वाहेकका विषयमा विषयमा छलफल गर्न सभापति तयार रहेको बताएका छन् ।
सभापति देउवासँगको भेटपछि नेता साउदले विधानका निलम्बन गरिएका धारामाथि छलफल तथा विभाग, तरुण दल र नेविसंघमा साथीहरूको सहभागिता र साझेदारी सुनिश्चित हुने गरेर सहमति गर्न सकिन्छ भन्ने सभापतिको धारणा रहेको बताएका छन् ।
सबै विषय टुंगिने र पार्टी एकताबद्ध हुने विश्वास व्यक्त गर्दै कतिपय नेताले पार्टीभित्रको गुट अन्त्य नभएमा नेपाली कांग्रेस अरु कमजोर हुने विश्लेषण गरेका छन् । वहुमत र अल्पमतको आधारमा निर्णय गर्नु गलत भएको विभिन्न जिल्लाका सभापतिहरुको तर्क छ । सभापतिहरुको सम्मेलन आज सकिने बताइएको छ । तर उनीहरु राजधानीमै बसेर नेतृत्वलाई दवाव दिइरहने बताइएको छ ।
यसैवीच सभापति देउवाले जिल्ला सभापतिहरुलाई वुढानिलकण्ठस्थित आफ्नो निवासमा भेटवार्ताका लागि बोलाएको बताइएको छ । भेटका क्रममा जिल्ला सभापतिहरुले देउवालाई सानेपा भेलाबाट जारी हुने घोषणापत्र हस्तान्तरण गर्ने बताइएको छ ।
























