इरान । युक्रेन इन्टरनेशनलको विमान इरानमा दुर्घटना हुँदा त्यसमा सवार सबै १७६ जनाको मृत्यु भएको छ।
बोइङ ७३७ विमान बुधबार बिहान इरानको राजधानी तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमै दुर्घटना हुँदा विमानमा सवार १६७ जना यात्रु र चालक दलका ९ सदस्यकै मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।
इरानको अर्धसरकारी समाचार एजेन्सी आईएसएनएसँग कुरा गर्दै रेड क्रिसेन्टका प्रमुखले भनेका छन्, ‘विमान दुर्घटनामा जिउँदा व्यक्ति फेला पर्ने सम्भावना छैन ।’ रेड क्रिसेन्ट मुस्लिम देशहरुको एक संगठन हो जसले विपदमा परेकाहरुलाई सघाउँछ ।
इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् । विमान दुर्घटना हुनुभन्दा केही घण्टा अगाडि इरानले इराकस्थित अमेरिकी सेना बसेका दुई स्थानमा आक्रमण गरेको थियो ।