काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले जिल्ला सभापतिहरुसँग छलफल गरिरहेका छन् ।
कांग्रेस केन्द्रीय समितिले पुस ११ गते बहुमतको आधारमा १४ औं महाधिवेशनको मिति तोक्ने, विभागहरुको संख्या ४७ पुर्याउने, तरुण दलको म्याद थप्ने लगायतको निर्णय गरेपछि रुष्ट बनेको संस्थापनइतर समूहले भावी रणनीति बनाउन र संस्थापन पक्षलाई दवाव दिन जिल्ला सभापतिहरुलाई काठमाडौंमा भेला गरेको हो ।
भेलामा ३० भन्दा बढी जिल्लाका सभापतिहरुको सहभागिता रहेको बताइएको छ । भेलामा वरिष्ठ नेता पौडेल, महामन्त्री डा। शशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह, नेताहरु डा। रामशरण महत, अर्जुननरसिंह केसी, कोषाध्यक्ष सीतादेवी यादवलगायत नेताहरुको सहभागिता रहेको बताइएको छ ।
७० वर्षे इतिहासमै पहिलो पटक महाधिवेशन गर्ने निर्णय वहुमतको आधारमा भएको भन्दै त्यसलाई सच्याउन वरिष्ठ नेता पौडेल र सिटौला पक्षका नेताहरुले दबाब दिँदै आएका छन् ।























