काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सूचना तथा सञ्चार प्रविधि विधेयकको विरोध गरेको छ । आज विहान बसेको वैठकले सरकारले भजन मण्डली तयार गर्न खोजेको आरोप लगाउँदै प्रस्तावित कानुनको खारेजीको माग समेत गरेको छ ।
‘यो कानुनलाई रुपमा सत्ता पक्षले मर्यादा र अनुशासनको प्रतिक बताए पनि सारमा यो अभिव्यक्ति स्वतन्त्रता माथि बन्देज लगाएर सत्ताको भजन मण्डली तयार गर्ने नियोजित साजिस हो । विचार र धारणामाथि अंकुश लगाउने हतियार हो,’ वैठकपश्चात जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।
एक दलीय अधिनायकवादलाई आफ्नो उद्देश्य र आदर्श मान्ने शक्तिबाट यस्तो कानुन निर्माणको क्रम अघि सारिनु अत्यन्तै आपतिजनक छ, राप्रपा (संयुक्त) को निष्कर्ष छ ।
वैठकले हरिबहादुर बस्नेत र नवराज सुवेदीद्वारा प्रस्तुत प्रतिवेदनहरु कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । बैठकमा पार्टीको भाबी कार्यक्रम, नीति र संगठन सुदृढीकरण एवं बिस्तारबारे छलफल भएको बताइएको छ ।























