अष्ट्रेलियामा भइरहेको आगलागी नियन्त्रण गर्न थप तीन हजार सैनिक परिचालन गरिने भएको छ । प्रधानमन्त्री स्कट मोरिसनले शनिबार त्यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको बताएका हुन् । उनका अनुसार यसरी यति ठूलो संख्यामा सैनिक परिचालन गर्न लागिएको उनले थाहा पाएसम्मकै यो सबैभन्दा धेरै हो ।
‘धेरै सुरक्षाकर्मीहरुलाई घटनास्थलमा परिचालन गर्ने निर्णय आज गरिएको छ, धेरै हवाई जहाज र पानी जहाजमा पनि सुरक्षाकर्मीहरु राखेर खटाउछौँ’, उनले भने । उनले तयारी अवस्थामा रहेको तीन हजार सैनिकलाई आगलागी नियन्त्रणका लागि बोलाई सकिएको पनि जानकारी दिए । रासस÷एएफपी
झण्डै एक महिना अघिदेखि भइरहेको विनाशकारी आगलागी नियन्त्रण हुन नसकिरहेकाले उनीहरुलाई परिचालन गर्नु परेको प्रधानमन्त्री मोरिसनको भनाइ छ । यसअघि पनि घटनास्थलमा आगलागी नियन्त्रण, खोजी तथा उद्धारलगायतका कामका लागि सैनिकहरुले सघाइरहेका थिए । अधिकारीहरुका अनुसार झण्डै दुई हजार सुरक्षाकर्मी यसअघि पनि परिचालन गरिएको थियो ।
आगलागीका कारण अहिलेसम्म कम्तीमा २५ जनाको मृत्यु भएको र अरु धेरै बेपत्ता भएको जनाइएको छ । गत सेप्टेम्बरदेखि लागेको यो डढेलोले ५० करोडभन्दा बढी जनावर र पंक्षीहरुको मृत्यु भइसकेको बताइएको छ ।
चार महिनापछि पनि अष्ट्रेलियाको जंगलमा लागेको डढेलो नियन्त्रणमा आउन सकेको छैन । युनिभर्सिटी अफ सिड्नीको इकोलोजिस्टले अहिलेसम्म ५० करोड जनावर डढेको जानकारी दिएको छ । यसमा स्तनधारी पशुपंक्षीका साथै घस्रने जनावर पनि समावेश छन् ।
न्यू साउथ वेल्स रुरल फायर सर्भिस (आरएफएम) ले जंगलको डढेलोका कारण नावरा नजिकैको उत्तरी किनारमा आफ्नै मौसम प्रणाली विकसित भएको बताएको छ । यसलाई आरएफएसले निकै नै खतरनाक स्थिती बताएको छ ।
देशको भिक्टोरिया राज्य अन्तर्गत पर्ने पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्रभावित भएको छ । अष्ट्रेलियाको तटीय क्षेत्रमा भएको आगलागीका कारण हजारौँ मानिसहरू भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन् । डढेलो ‘नियन्त्रण बाहिर’ छ भने त्यस क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सियस रहेको अधिकारीहरुले जनाएका छन् ।