काठमाडौं । राष्ट्रियसभाको निर्वाचनमा नेपाली काँग्रेस र समाजवादी पार्टीले चुनावी तालमेल गर्ने सहमति गरेका छन् ।
शुक्रवार भएको छलफलमा प्रदेश २ मा हुने ४ पदको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट महिला र अल्पसँख्यक र समाजवादी पार्टीका तर्फबाट दलित र अन्य पदमा उम्मेदारी दिने सहमति भएको छ ।
राष्ट्रियसभाको निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) बीच तालमेल भएपछि समाजवादी पार्टीले काँग्रेससँग सहमति गरेको हो । यसअघि नेकपा, राजपा र समाजवादी पार्टीबीच चुनावी तालमेल थियो ।
राजपा नेपाल र नेकपाले प्रदेश २ का लागि तालमेल गरिसकेपछि अरु दलहरुको जित्ने सम्भावना धेरै कम छ । त्यस अवस्थामा पनि चुनावमा भाग लिनका लागि काँग्रेस र समाजवादी पार्टीले चुनावी तालमेल गरेका हुन् ।
























