नयाँ दिल्ली । एसियाकै धनाढ्य भारतीय व्यवसायी मुकेश अम्बानीले संसारकै धनी जेफ बेजोसको खुद्रा बिक्रेता अमेजनसँग भारतमा प्रतिस्पर्धा गर्न सेवा सुरु गरेका छन् । बीबीसीका अनुसार अम्बानीको रिलायन्स इन्डस्ट्रिजले उपभोक्ता तथा ग्राहकलाई अनलाइनबाटै किराना सामग्री बिक्रीमा सेवा दिन लागेको हो ।
यसका लागि कम्पनीले ग्राहकलाई साइन अप गरी सामानको अर्डर दिन आग्रह गरेको छ । कम्पनीले विशाल मोबाइल प्रयोगकर्ता रहेको भारतमा नयाँ व्यवसाय सुरु गरेको हो । रिलायन्सको आगमनले भारतीय बजारमा हाल रहेका अनलाइन रिटेल कम्पनीलाई नयाँ चुनौती दिने आँकलन गरिएको छ । अम्बानीको दुईवटा सब्सिडरी कम्पनी रिलायन्स रिटेल र रिलायन्स जिओले संयुक्त उपक्रममा जियोमार्ट सुरु गरेका हुन् । हाललाई यो सफ्टलन्च गरिएको कम्पनीले जनाएको छ । जियोमार्टले निःशुल्क र द्रुतगतिको सेवा दिने प्रतिबद्धता जनाएको छ । यसका लागि कम्पनीले किराना सामानको सूची तयार गरिसकेको छ । उक्त सूचीमा ५० हजार वस्तु समावेश छन् ।
अरु कम्पनीले भन्दा भिन्न तरिकाले जियोमार्टले आफ्ना स्थानीय स्टोरहरुबाट ग्राहकलाई सेवा दिनेछ । यसका लागि मोबाइल एप्लिकेसन सञ्चालन गर्नेछ । भारतमा अनलाइन बजार सुरुवाती चरणमा छ । मौजुदा बजारमा वर्षेनी ८७ करोड अमेरिकी डलरको कारोबार भइरहेको छ । यो भनेको कुल जनसंख्याको शून्य दशमलव १५ प्रतिशतले मात्रै यस्तो सेवा प्रयोग गर्ने गरेका छन् । तर विश्लेषकहरुको अनुमानमा सन् २०२३ सम्ममा झण्डै १४ अर्ब डलरको अनलाइन किनमेल हुनसक्नेछ । अहिले भारतमा बेजोसको अमेजन र वालमार्टको फ्लिपकार्टले बजारमा कब्जा जमाएको छ । गत वर्ष दुवै कम्पनी सरकारी नयाँ कानुनको चेपुवामा परेका थिए । भारतले गत वर्ष विदेशी कम्पनीलाई आफ्नै सब्सिडरीबाट सामान बेच्न रोकेको थियो । यसले भारतीय कम्पनीलाई फाइदा पुगेको थियो । उक्त नियम भारतीय कम्पनीको हकमा लागू नहुने भएकाले विदेशी कम्पनीले ठूलै चुनौतीको सामना गरिरहेका छन् ।
अम्बानी रिलायन्स इन्डस्ट्रिजका प्रमुख हुन् भने उनको सम्पत्ति ६० अर्ब डलरभन्दा धेरै छ । अम्बानीको मुख्य व्यवसाय तेल प्रशोधन हो । यसबाहेक अम्बानीले खुद्रा व्यवसाय र दूरसञ्चार सेवामा समेत हात हालेको छ । भारतमा रिलायन्सको आफ्नै स्टोरहरु रहेका छन् । उसले ह्युगो बोस र बर्बरी जस्ता विश्व ब्रान्ड पनि सञ्चालन गरिरहेको छ । सन् २०१९ मा कम्पनीले बेलायती टोय शप हाम्लेज पनि खरिद गरेको थियो । त्यस्तै रिलायन्स जियो भारतकै दोस्रो ठूलो टेलिकम सञ्चालक हो । यसका ३६ करोडभन्दा बढी उपभोक्ता छन् ।