काठमाडौँ । अर्थ मन्त्रालयका उपसचिव राजेन्द्र ढुङ्गानाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
ढुंगानालाई अख्तियारले चार करोड ६८ लाख ४८ हजार ५५६ रुपैयाँ ४५ पैसा बिगो कायम गरी भ्रष्टाचार मुद्दा दायर गरेको हो । सार्वजनिक पदमा रहेर अस्वाभाविक रुपमा सम्पत्ति आर्जन गरेको र सम्पत्तिको स्रोतसमेत खुल्न नसकेको अख्तियारको दावी छ ।
ढुंगानाले सार्वजनिक सेवाको पदमा रहेर आफ्नो पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य कार्य गरी गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिहरु आफू लगायत श्रीमती मधु कोइराला (ढुङ्गाना) को नाममासमेत खरिद गरी राखेको देखिएको अख्तियारले जनाएको छ । अख्तियारले मुद्दामा उनकी पत्नी मधु कोइराला (ढुङ्गाना)लाई पनि विपक्षी बनाएको छ ।
उपसचिव ढुंगानाविरुद्ध अख्तियारमा सार्वजनिक सेवाको पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेकोले छानबिन तथा अनुसन्धान गरी कारवाही गरी पाउँ भन्ने उजुरी परेपछि अख्तियारले छानविन थालेको थियो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार २०४९ साउन १९ देखि सार्वजनिक सेवामा प्रवेश गरेका राजेन्द्र ढुङ्गानाले २०७५ असार ३२ सम्म आर्जन गरेको वैध आय ७९ लाख ५४ हजार ७९५ रुपैयाँ ८ पैसा हुन आउँछ ।
उक्त आयको तुलनामा उनले सोही अवधिमा गरेको खर्च तथा लगानी ५ करोड ४८ लाख ३ हजार ३५१ रुपैयाँ ५३ पैसा रहेको अनुसन्धानबाट खुलेको छ ।



















