काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राष्ट्रियसभा निर्वाचनमा उम्मेदवार चयन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको नेकपा सचिवालय बैठकले माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारहरुको नामावली टुंगो लगाएको हो ।
नेकपाले सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठ र नेता वेदुराम भुषाललाई पनि उम्मेदवार बनाउने निर्णय गरेको छ ।
नेता बामदेव गौतमलाई पनि राष्ट्रियसभा सदस्यको उम्मेदवार बन्न प्रस्ताव गरिएको भएपनि उनले अस्वीकार गरेको बताइएको छ । बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले गौतमसँगै प्रवक्ता नारायणकाजी श्रेष्ठको नाम प्रस्ताव गरेका थिए । तर नेता गौतमले संविधान संशोधन गरेर राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने व्यवस्था गरे मात्र राष्ट्रियसभा उम्मेदवार बन्ने शर्त राखेका थिए । तर अध्यक्ष एवं प्रधानमन्त्री ओलीले गौतमको शर्त ठाडै अस्वीकार गरेको बुझिएको छ ।
राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री हुने गरी संविधान संशोधन गर्न नसकिने वताउँदै प्रधानमन्त्री तथा अध्यक्ष ओलीले गौतम अहिले प्रधानमन्त्री बन्ने सम्भाव नभएको स्पष्ट गरेको बताइएको छ ।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश १ बाट महिला उम्मेवार इन्दु गौतम, दलितबाट गोपी अछामी र अन्यबाट देवेन्द्र दाहाललाई उम्मेदवार बनाइएको छ ।
त्यसैगरी प्रदेश २ मा महिलाबाट तुलसा दाहाल र दलितबाट राधेश्याम पासवानलाई उम्मेदवार बनाएको छ । त्यहाँ राजपासँग चुनावी तालमेल गरेका कारण नेकपाले दुईजना उम्मेदवार मात्र तय गरेको हो ।
त्यस्तै प्रदेश ३ मा महिला उम्मेदवारमा गंगा बेलबासे र अन्यमा बेदुराम भुसाललाई चयन गरेको छ भने गण्डकी प्रदेशबाट अन्य उम्मेदवार नारायणकाजी श्रेष्ठ र महिलाबाट भगवती न्यौपानेलाई उम्मेदवार तय गरेको छ ।
प्रदेश ५ मा महिला उम्मेदवार विमला घिमिरे, अपांगताबाट जगप्रसाद शर्मा र अन्यबाट गोपाल भट्टराईको नाम टुंगो लागेको छ भने कर्णाली प्रदेशबाट अन्यबाट मायाप्रसाद शर्मा र महिलाबाट सुनिता केसी उम्मेदवार बन्ने भएका छन् ।
सुदूरपश्चिम प्रदेशबाट अन्यमा तारामान स्वाँर र महिलाबाट शारदा भट्टलाई उम्मेदवार बनाइएको छ ।
राष्ट्रियसभा निर्वाचनका लागि यही पुस २० गते उम्मेदवारी दर्ता हुने छ ।
राष्ट्रियसभामा नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका १ र सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित १ गरी कूल १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ सकिँदैछ । राष्ट्रियसभा सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि नै निर्वाचन भइसक्नुपर्ने संवैधानिक व्यवस्था रहेका कारण माघ ९ गते निर्वाचन हुने भएको हो । १८ पदमा निर्वाचन हुने छ भने १ राष्ट्रपतिबाट मनोनित हुनेछन् ।



















