काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बसेको केन्द्रीय समिति वैठकले राष्ट्रियसभामा पठाउने उम्मेदवारको नामको टुंगो लगाउने जिम्मा पदाधिकारीलाई दिएको छ ।
पार्टी मुख्यालय सानेपामा बसेको वैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष नआएपछि सभापति शेरबहादुर देउवाले उम्मेदवार चयन गर्ने अधिकार पदाधिकारीलाई दिने निर्णय गराएको देउवा पक्षीय एक केन्द्रीय सदस्यले बताएका छन् ।
राष्ट्रियसभाको उम्मेदवारी मनोनयन पुस २० गते र चुनाव माघ ९ गतेलाई तय गरिएको छ । निर्णय गर्नुअघि उपसभापति विमलेन्द्र निधिले पौडेल समूहका केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालसँग भेट गरेका थिए । उम्मेदवार चयन गर्न डाकिएको बैठकमा नआउने तर सल्लाह र परामर्श गरेर मात्रै उम्मेदवार चयन गर्न सुझाव दिएका थिए ।
पुस ११ गते पौडेल समूहको बहिष्कारबीच सभापति देउवाले केन्द्रीय कार्यसमितिको म्याद एक वर्ष थप्ने र १४ औं महाधिवेशन ०७७ फागुनमा गर्ने, पार्टी विभागको संख्या २८ बाट बढाएर ४७ बनाउने, तरुण दलको म्याद ६ महिना थप गर्ने लगायतका निर्णय गरेपछि पौडेल पक्ष संस्थापनपक्षसँग थप रुष्ट भएको छ ।
पौडेललाई पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको साथ छ । उनीहरुको समूहले पुस १२ गते पत्रकार सम्मेलन गरेर देउवाले गरेको एकलौटी निर्णय खारेज गर्न माग गरेका थिए ।
केन्द्रीय समिति वैठक वहिस्कार गरेका पौडेलले पक्षको भेला महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा बसिरहेको बुझिएको छ ।



















