काठमाडौँ । नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रूपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रूपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ बुधबारबाट भएको छ ।
काठमाडौँको दशरथ रङ्गशालामा बुधबार साँझ एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० अभियानको शुभारम्भ गर्नुभएको हो ।
भ्रमण वर्षको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रकृतिलाई मासेर नभई जोगाएर मात्र नेपालको पर्यटन विकास गर्नुपर्ने बताउनुभएको छ । उहाँले दुई दशकदेखि शिथिल नेपालको आर्थिक सामाजिक अवस्था अब पर्यटनका माध्यमबाट उकास्नुपर्ने बताउनुभयो । सबैको सहयोग र सहभागिताबाट भ्रमण वर्ष महाभियानका रूपमा अघि बढ्ने विश्वास व्यक्त गर्दै उहाँले यसलाई सफल पार्न सबै नेपालीलाई एक जुट हुन आह्वान पनि गर्नुभयो । पर्यटनलाई आर्थिक आधारका रूपमा लिई मुलुकको योजनाबद्ध पर्यटन विकासमा जोड दिँदै उहाँले यसका लागि स्रोत र साधनको उपयोग गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “वसुधैव कुटुम्बकमको मान्यताबाट प्रेरित भई विश्व शान्ति, मानवता र भ्रातृत्वका लागि नेपालीहरू एक जुट हुनुपर्छ ।”
राष्ट्रपति भण्डारीले नेपाल उत्कृष्ट पर्यटन गन्तव्य भएको र यहाँ सगरमाथा, लुम्बिनी, चितवन, अन्नपूर्णबाहेक अन्य थुप्रै पर्यटन गन्तव्य भएको बताउँदै पर्यटन विकासका लागि प्राकृतिक, सांस्कृतिक, पर्यावरणीयमैत्री र भौतिक विकास गर्नुपर्नेमा जोड दिनुभयो । पर्यटकलाई देशभित्रै उत्पादन भएका वस्तु खानपान र प्रयोग गराउनुपर्ने सुझाव पनि उहाँले दिनुभयो ।
उक्त समारोहमा स्वागत मन्तव्य राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यो कार्यक्रमलाई प्रस्थान विन्दुका रूपमा लिएको र आगामी दशक पर्यटन दशकका रूपमा मनाउने तयारीमा सरकार रहेको बताउनुभयो ।
पर्यटनमन्त्री भट्टराईले भ्रमण वर्षलाई प्रस्तान विन्दुका रूपमा लिएर सन् २०३० सम्म पर्यटक दशकका रूपमा मनाउने तयारी भइरहेको जानकारी दिनुभयो । “पर्यटनलाई नेपालको आर्थिक विकासको महत्वपूर्ण आधार भनेका छौँ, त्यसका लागि यो सङ्ख्या र कार्यक्रम पर्याप्त छैन । त्यसैले हामीले ‘२०२०’ लाई प्रस्थान विन्दु मान्नेछौँ । २०२० देखि २०३० लाई पर्यटन दशकका रूपमा सञ्चालन गर्नुपर्छ भन्ने योजनामा हामी छौँ”, उहाँले भन्नुभयो ।
नेपाल भ्रमण गरी जीवनभरिका लागि मीठो अनुभव लिएर जान विश्व समुदायलाई अपिल गर्दै मन्त्री भट्टराईले नेपाल संसारकै एक अद्वितीय पर्यटकीय गन्तव्य भएको बताउनुभयो । पर्यटनमन्त्री भट्टराईले यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक सम्पदा एवं मौलिक संस्कृतिको अदभूत अनुभूति लिनका लागि पर्यटकलाई आग्रह गर्नुभयो ।
‘‘नेपाल प्रकृतिको अनुपम सिर्जना हो । यहाँका अनुपम एवं अद्वितीय प्राकृतिक सौन्दर्यसँग रमाउन नेपाल आउनुहोस् । जिन्दगीभरिका लागि मीठो अनुभव लिएर जानुहोस्,” उहाँले भन्नुभयो, ‘‘नेपाल यो धर्तीकै मौलिक संस्कृतिको केन्द्र हो, विविधतापूण संस्कृतिमा रमाएर जिन्दगीभरिका लागि अदभूत अनूभूति सङ्गालेर जानुहोस् ।”
पर्यटनमन्त्री भट्टराईले सबैखाले अफ्ठ्यारालाई छिचोल्दै मुलुक स्थायी शान्ति, समृद्धि र स्थायित्वको फराकिलो राजमार्गमा आइपुगेको उल्लेख गर्नुभयो । उहाँले अवको यात्रा आर्थिक र सामाजिक असमानताको अन्त्य गर्दै राष्ट्रिय पूँजीको विकास गरेर समतामूलक समाज निर्माण गरी मुलुकलाई समाजवाद निर्माणको बाटोमा लैजाने बताउनुभयो ।
“नेपाल स्थायी शान्ति, स्थिरता, समृद्धि र सुशासनको बाटोमा छ । यहाँ लगानीको उपयुक्त वातावरण बनेको छ । आउनुहोस्, नेपाल लगानीको लागि ‘भर्जिन ल्याण्ड’ हो ”, पर्यटनमत्रीले भन्नुभयो ।
उहाँले विश्वलाइनै मोहित र अचम्मित पार्ने खालका असङ्ख्य संस्कृति र सम्पदाको साथै ‘अतिथि देवो भव’को मान्यतामा नेपालीहरूको अथिति सत्कार विश्वमै उत्कृष्ट मानिने उल्लेख गर्नुभयो । प्राकृतिक सुन्दरता, सांस्कृतिक सम्पदा, भौगोलिक विविधता र धार्मिक केन्द्रको आधारमा पनि नेपाल पर्यटकको महत्वपूर्ण गन्तव्य हो भन्दै मन्त्री भट्टराईले विश्वको सर्वोच्च शिखर सगरमाथासहित अग्ला हिमालको पर्वतारोहण, पद्यात्रा, रक–क्लाइम्बिङ, र प्याराग्लाइडिङलगायत साहसिक पर्यटन गतिविधिको प्रमुख स्रोत भएको बताउनुभयो ।
शान्तिका अग्रदूत गौतमबुद्धको पवित्र जन्मस्थल लुम्बिनी, हिन्दूहरूका आराध्यदेव पशुपतिनाथ मन्दिरसहितको पवित्र तीर्थस्थल तीर्थस्थलले नेपालमा धार्मिक पर्यटकको आकर्षण बढाएको उहाँले बताउनुभयो । मन्त्री भट्टराईले मुलुक स्थायी शान्ति, स्थिरता र समृद्धिको राजमार्गमा अघि बढेसँगै पर्यटनलाई नेपालको अर्थतन्त्रमा प्रमुख आधारमध्येका एक बनाउने सरकारको योजना रहेको भन्दै सरकारले नेपाल भ्रमण वर्षलाई राष्ट्रिय उत्सवको रूपमा मनाउने सङ्कल्पसहित शुभारम्भ गरेको बताउनुभयो ।
पर्यटनबाट प्राप्त हुने राजश्व तथा रोजगारी बढाई समग्र आर्थिक वृद्धि, प्रति व्यक्ति आय एवं कूल गार्हस्थ उत्पादन(जीडिपी) मा पर्यटनबाट हुने योगदानको हिस्सा बढाउने सरकारी लक्ष्य भएको सुनाउनुभयो ।
उहाँले घोषित पर्यटकीय लक्ष्यलाई पूरा गर्नका लागि पर्यटन पूर्वाधार निर्माण र सेवामा विस्तार, पर्यटनमा गुणस्तर, बजारीकरण र ब्राण्डिङ, मानव संशोधनको विकास, सांस्कृतिक सम्पदाको विकास, पर्यटनमा अध्ययन–अनुसन्धान र अभिलेखीकरणमा मन्त्रालयले जोड दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “अव हामी यो अभियानबाट पर्यटनको राष्ट्रिय मनोविज्ञान तयार पार्नेछौं, पर्यटनमा नयाँ मानक स्थापना गर्नेछौं र विश्व समुदायको दिलदिमागमा नेपालको नयाँ बिम्ब निर्माण गर्नेछौ ।”
शुभारम्भ समारोहमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनालगायत पूर्वप्रधानमन्त्री, राजनीतिक दलका नेता, विभिन्न देशबाट आएका पर्यटनमन्त्री, सङ्घीय सरकारका मन्त्री, प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसद, संवैधानिक निकायका प्रमुख, कूटनीतिक नियोगका प्रमुख, विदेशी नियोगका प्रमुख र विभिन्न देशका प्रतिनिधिको उपस्थिति थियो ।
सो अवसरमा चीनका सहायक पर्यटनमन्त्री वाङ सियाओफेङ, भारतका पर्यटन राज्यमन्त्री प्रल्हादसिंह पट्टेल, म्यानमाका प्राकृतिक स्रोत तथा वातावरण संरक्षणमन्त्री यू ओहन मौङ, जमैकाका पर्यटनमन्त्री ओन मउङले नेपालमा बढीभन्दा बढी पर्यटक ल्याउन आआफ्नो मुलुकले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
चिनियाँ सहायकमन्त्री वाङले चीनमा पर्यटन प्रवद्र्धनका कार्यक्रम आयोजना गर्न नेपाललाई आग्रह गर्नुभयो भने म्यान्माली मन्त्री मौङले आगामी मार्चमा म्यान्मामा नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने गरी अभियान चालिने जानकारी दिनुभयो । भारतीय राज्यमन्त्री पट्टेलले पशुपतिनाथ र सीतारामका माध्यमले नेपाल र भारतले पर्यटन विकास गर्नुपर्ने बताउनुभयो भने जमैकाका मन्त्री मउङले पर्यटन विकासका लागि नेपालका संस्थाहरूसँग मिलेर काम गरिने जानकारी दिनुभयो ।
शुभारम्भअघि सरकारी निकाय, निजी क्षेत्र, पर्यटनसँग सम्बद्ध सङ्घसंस्था, सामाजिक क्षेत्र, स्वयंसेवी समूह सङ्गठन, सामाजिक सङ्घसंस्थाको ब्यानर र पोसाकसहित मार्चपास गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विशेष प्रस्तुति थियो । नेपालको ख्यातिप्राप्त कलाकारको साङ्गीतिक प्रस्तुति र सांस्कृतिक विविधता झल्किने मौलिक प्रस्तुति देखाइएको थियो ।
त्यस्तै बुधरबार नै सातवटै प्रदेशका मुख्य स्थानमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ । प्रदेश नं १ मा विराटनगरको रङ्गशाला, प्रदेश नं २ मा जानकी मन्दिर परिसर, प्रदेश नं ३ मा चितवनको सौराहा, गण्डकी प्रदेशको लेकसाइट पोखरा, प्रदेश नं ५ को बर्दियाको ठाकूरद्वार, प्रदेश नं ६ को सुर्खेत बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन गरिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ ।
त्यस्तै जनवरी ७ तारिख (पुस २२ गते) विदेशस्थित नेपाली दूतावासमा भ्रमण वर्षको उद्घाटन गरिने र दूतावास नभएका मुलुकमा गैरआवासीय नेपालीमार्फत उद्घाटन गरिने बताइएको छ ।
सरकारले नेपाल भ्रमण मनाएर उक्त अवधिमा २० लाख विदेशी पर्यटक भित्र्याउनले लक्ष्यसहित प्रवद्र्धनका साथै पूर्वाधार विकासलाई सँगै अघि बढाएको छ । सन् २०१८ मा १२ लाख हाराहारीमा विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
यसअघि सरकारले सन् १९९८ मा नेपाल भ्रमण वर्ष मनाएर पाँच लाख विदेशी पर्यटक ल्याउने लक्ष्यसहित प्रवद्र्धनात्मक गतिविधि सञ्चालन गरिएको थियो । त्यस्तै सन् २०११ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाएर १० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको थियो । सात वर्षपछि उक्त लक्ष्य सन् २०१७ मा भेटिएको थियो । सन् २०१७ मा १० लाख पर्यटक नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्याङ्क छ ।
भ्रमण वर्ष सचिवालयका संयोजक सुरज वैद्यले नेपालको संस्कृति, सम्पदा, वेशभूषा र रहनसहनलाई प्राथमिकता राखेर उद्घाटन समारोहलाई भव्य बनाइएको उल्लेख गर्नुभएको छ ।
उद्घाटन समारोह भव्य
दिउँसो चार बजेदेखि रङ्गशालामा भ्रमण वर्षको उद्घाटन हुने भनेपछि सर्वसाधारण त्यसअगावै नै रङ्गाशाला पुगेका थिए । निर्धारित समयभन्दा करिब आधा घण्टा ढिलो शुरु भएको उद्घाटन साँझ ८ः३० बजेसम्म सञ्चालन भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको आगमनपछि राष्ट्रिय गीतबाट कार्यक्रम शुरु गरिएको थियो । नेपाली सेनाका टुकडीले देशभक्तिको गीत गाउनुको साथै मञ्च अगाडि नेपाल भ्रमण वर्ष–२०२० को छोटकरी रूप ‘भि एन वाई’ चित्र बनाएका थिए । समारोहमा हिन्दू, बौद्ध, मुस्लिम, जैन, इसाइ, शिख समुदायले आ–आफ्ना पाठ पढेर नेपालमा विभिन्न समुदाय रहन्छन् भन्ने सन्देश दिएका थिए । हिन्दूले शङ्खध्वनी बजाउनुको साथै वैदिक स्वस्ति पाठवाचन गरेका थिए वौद्ध धर्मालम्बीले बौद्ध पाठवाचन गरेका थिए । कार्यक्रममा १०८ बटुक र १०८ बौद्धधर्मालम्बीले उक्त पाठवाचन गरेका थिए ।
उद्घोषकले समारोहको सञ्चालन नगर्दै नेपाल चलचित्रका महानायक राजेश हमालमञ्चमा देखिएपछि प्यारापिटमा रहेका दर्शकले ‘हुटिङ’ गरेका थिए । सम्बोधनकै क्रममा हमालले नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण मुलुक रहेको र विभिन्न पर्यटकको आकर्षक गन्तव्य रहेकाले विदेशी पाहुनालाई नेपाल भ्रमण गर्न आग्रह गर्नुभयो ।
त्यसपछि पर्यटन व्यवसायी र विभिन्न सङ्घ संस्थाको झाँकी प्रदर्शन गरिएको थियो । पर्यटन व्यवसायीले पर्यटनका सामग्री बोकेर प्रदर्शन गरेका थिए । करिब एक घण्टा विभिन्न जातजाति, भाषा संस्कृतिका झाँकी प्रदर्शन गरिएको थियो ।
शुरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले भ्रमण वर्षमा नेपाल घुम्न आउन सबै पर्यटकलाई निम्तो दिँदै आर्थिक विकासको आधार पर्यटनलाई बनाउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले एकताको दिपज्योति प्रज्वलन गरी भ्रमण वर्षको उद्घाटन गर्नुभएको थियो । सोही समारोहमा भ्रमण वर्षको मस्कट ‘यति’को प्रदर्शन गरियो ।
समारोहमा उपस्थित दर्शकले भ्रमण वर्षको मस्टक यति अभिरुचिपूर्वक अवलोकन गरेका थिए । उनीहरू यतिको अगाडि बसेर फोटो खिचाउन व्यस्त रहेका थिए । भ्रमण वर्षको लोगो अङ्कित ब्यानर चार वटा नेपाली सेनाको हेलिकप्टरबाट प्रदर्शन गरिएको थियो ।
राजनीतिक दलका नेताको शुभकामना
भ्रमणवर्ष सफल बनाउनका लागि पूर्व प्रधानमन्त्री, राजनीतिक दलका नेता र सातवटै प्रदेशमा मुख्यमन्त्रीले प्रतिबद्धता व्यक्त गरेको भिडियो सन्देश देखाइएको थियो । पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष राजेन्द्र महतोले भ्रमण वर्षको शुमकामना दिँदै सफल पार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यसैगरी सातैवटै प्रदेशमा मुख्यमन्त्रीले आफ्नो प्रदेशको पर्यटकीय क्षेत्रबारे जानकारी गराउँदै भ्रमण गर्न आग्रह गर्नुभयो । समारोहमा विदेशबाट आउनु भएका पर्यटन मन्त्रीहरूले सम्बोधन गर्नुभएको थियो । उहाँहरूले भ्रमण वर्षमा आफ्नो मुलुकबाट बढिभन्दा बढी पर्यटक भित्र्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
रङ्गशालाको बीचमा रहेको मञ्चमा देखिने स्क्रीनमा नेपालका विभिन्न पर्यटकीय गन्तव्य, विभिन्न सङ्गीत ब्याण्ड तथा ख्यातिप्राप्त राष्ट्रिय कलाकारको गीत र नृत्य प्रस्तुति गरेका थिए । नेपालको संस्कृति, सम्पदा, वेशभूषा र रहनसहनलाई प्राथमिकता राखेर नृत्य प्रस्तुत गरेका थिए । उद्घाटन सत्रमा भ्रमण वर्षाङ्कित ठूलाठूला सेतो बेलुन उडाइएको थिए ।