काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बेलुका ४ बजे बस्ने भएको छ । राष्ट्रियसभाको निर्वाचनका लागि पार्टीका उम्मेदवार चयन गर्न बस्न लागेको वैठकमा सभामुखको उम्मेदवारबारे पनि छलफल हुने बताइएको छ ।
राष्ट्रियसभाका रिक्त १९ पद मध्ये १८ पदका लागि माघ ९ गते निर्वाचन हुँदैछ । एकजना भने राष्ट्रपतिले मनोनित गर्ने व्यवस्था छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्नुपर्ने छ ।
तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयासको आरोपपछि राजीनामा दिएका कारण सभामुख पद रिक्त छ । नेकपाले सभामुखको उम्मेदवार चयन गर्न नसक्दा प्रतिनिधिसभाको बैठक समेत बस्न सकेको छैन । पुस ४ गते बैठक बसेपछि ११ गतेका लागि बोलाइएको बैठक स्थगित गरेर १६ गतेका लागि बोलाइएको थियो । त्यो बैठक पनि स्थगित गरे पुनः पुस २७ गतेका लागि बोलाइएको छ ।























