काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको बहिस्कारका बाबजुद कांग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका, केन्द्रीय कार्यसमितिको कार्यकाल थप्ने, पार्टीका विधानका दफा निलम्बन गर्ने, पार्टीका विभागको सङ्ख्या बढाउने र कार्यकाल सकिएको तरुण दलको म्याद थप गर्ने निर्णय बहुमतको आधारमा गरेपछि विवाद उत्कर्षमा पुगेको हो ।
सभापति शेरबहादुर देउवाले पार्टीले गरेको निर्णय मान्दिन भन्न कुनै नेतालाई पनि छुट नभएको दावी गर्दै बहुमतका आधारमा केन्द्रीय समितिले गरेको निर्णय लागू हुने जिकिर गरेका छन् । आज विराटनगरमा पत्रकारहरुसँग कुरा गर्दै सभापति देउवाले सहमतिको नाममा पार्टीलाई बन्धक बनाउन खोजिएको आरोप समेत लगाएका छन् ।
पौडेल र सिटौला पक्षले सहमतिमै निर्णय हुनुपर्ने भन्दै वहुमतको निर्णय नमान्ने बताइरहेका छन् नि ? भन्ने प्रश्नमा सभापति देउवाले सहमति नजुटेपछि बहुमतीय प्रणालीबाट अन्तिम निर्णय गरिएको बताएका छन् । उनले पार्टीभित्र प्रजातान्त्रिक अभ्यासको प्रयोग गरेको जिकिर पनि गरेका छन् । तर संस्थापन इतर पक्षले केन्द्रीय समिति बैठकबाट भएका निर्णय नसच्याए पार्टीको कुनै पनि बैठकमा उपस्थिति नजनाउने अडानमा छन् ।
बिहीबार दिउँसो २ बजेका लागि बोलाएको केन्द्रीय समिति बैठकमा पनि पौडेल–सिटौला पक्ष उपस्थित नहुने स्पष्ट पारेका छन् । पार्टी सभापति देउवा पक्षका नेताहरुले पदाधिकारी र केन्द्रीय कार्यसमिति बैठकमा संस्थापनइतरको उपस्थिति गराउने कसरत गरिरहेका छन् । तर बुधबार बिहान वरिष्ठ नेता रामचन्द्र पौडेल निवास बोहोराटारमा उनी निकट केही नेताहरुबीच छलफल भएको छ । सो छलफलले विधि–विधान र पार्टी परम्परा विपरीत भएका निर्णय नसच्याएसम्म बैठकमा जाने कुरा सोच्न पनि नसकिने निष्कर्ष निकालेको छ ।
केही दिनअघि पौडेल पक्षका नेताहरुको वैठकले आफूनिकट जिल्ला सभापतिको भेला बोलाएको छ । वरिष्ठ नेता पौडेल, महामन्त्री कोइराला, पूर्वमहामन्त्रीद्वय कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह, नेताहरु अर्जुनरसिंह केसी, डा. रामशरण महत, शेखर कोइरालालगायतका नेताहरूको सहभागितामा भएको वैठकले जिल्ला सभापतिहरुलाई पुस २१ गते केन्द्रीय कार्यालयमा बोलाउने निर्णय गरेको छ ।
सानेपामा भोलि केन्द्रीय समिति बैठक वस्दै छ । वैठकमा नजाने पौडेल पक्षले सोही समयमा आफू पक्षीय नेताहरूबीचको छुट्टै बैठक राख्ने तयारी गरेको एक नेताले बताएका छन् ।



















