काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ ले प्रदेश नम्बर तीनको नाम र राजधानी टुंगो लगाएको छ ।
आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालय बैठकले प्रदेश तीनको नाम बाग्मती र राजधानी हेटौडा राख्ने सहमति गरेको हो ।
बैठकले प्रदेशको नाम बागमती र राजधानी हेटौंडा कायम गर्ने गरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको बताइएको छ ।
प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत छ । तर नेकपाकै प्रदेश सांसदहरूबीच कुरा निर्णय हुन सकेको थिएन । सांसदहरुबीच प्रदेशको नाम नेपाल मण्डल, नेवा ताम्सालिङ र वाग्मती कुन राख्ने भन्नेमा विवाद थियो भने राजधानी काभ्रे, भक्तपुर, नुवाकोट र हेटौंडामध्ये कहाँ राख्ने भन्नेमा नेकपाका प्रदेशसभा सदस्यहरुबीच नै विवाद थियो । विवाद मिल्न नसकेपछि मुख्यमन्त्री डोरमणि पौडेलले नाम र राजधानी टुंग्याउन पार्टीले निर्देशन आवश्यक भएको बताएका थिए ।
नेकपाको निर्देशन अनुसार प्रस्ताव प्रदेशको संसदबाट पारित भएपछि प्रदेश र राजधानीको नाम टुंगो लाग्ने छ ।