काठमाडौं । आज १ बजेका लागि बोलाइएको संसद वैठक सूचना टाँसेर स्थगित गरिएको छ । कार्यसूची समेत तय भइसकेको बैठक स्थगित गरेर पुस १६ गतेका लागि बोलाइएको छ ।
सत्तारुढ नेकपाले सभामुख कसलाई बनाउने भन्ने टुंगो लगाउन नसकेकाले वैठक बस्न नसकेको बुझिएको छ । नेकपा अध्यक्ष पुष्पकमल प्रचण्ड बिहीबार चितवनबाट नफर्किएकाले सभामुखबारे नेकपामा छलफल हुन नसकेको बताइएको छ ।
आज प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच सभामुखबारे छलफल हुने नेकपा स्रोतले बताएको छ । नेकपामा सभामुख कसलाई बनाउने भन्नेमा विवाद छ । प्रधानमन्त्री तथा अध्यक्ष ओलीले सुवास नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् भने अर्का अध्यक्ष प्रचण्डमा पनि त्यसमा सकारात्म नै छन् । तर पूर्व माओवादी समूहका नेताहरुले सभामुख पहिला आफ्नो भागमा परेकाले यस पटक पनि आफूहरुले नै पाउनु पर्ने दावी गर्दै प्रचण्डलाई दवाव दिइरहेका छन् ।
संसद झनै पेचिलो बन्ने अवस्था आएकाले आफूले भर गरेको र संसदको नेता बन्न सक्ने व्यक्तिलाई सभामुख बनाउने प्रधानमन्त्रीको चाहना अनुसार नेम्वाङलाई सभामुखको बलियो उम्मेदवार देखिएका छन् ।
सभामुखको दाबेदारमा पूर्व एमालेबाट वर्तमान उपसभामुख तुम्बाहाम्फे, पूर्व माओवादीबाट अग्नि सापकोटा, देव गुरुङ र पम्फा भुसाल छन् ।
सभामुखमा टुंगो लागेर निर्वाचन प्रक्रिया अघि बढ्ने अवस्था आएपछि उपसभामुख तुम्बाहाम्फेको राजिनामा दिने बताइएको छ ।
























