काठमाडौँ, । प्रभु येशुको जन्मोत्सव (ख्रीष्टमस) को उपलक्ष्यमा नेपाली इसाईहरूले आज यहाँ ख्रीस्टमस दिवस मनाउँदैछन् । ग्रेगोरियन पात्रो अनुुसार यो दिवस प्रत्येक वर्षको डिसेम्बर महिना २५ तारिखका दिन विश्वभरका क्रिश्चियन धर्मावलम्बीले मनाउँछन् । आजभन्दा २०१९ वर्षअघि इजरायलको वेथलेहममा पिता स्वर्गदूत र माता मरियमका गर्भबाट येशुको जन्म भएको राष्ट्रिय ख्रीष्टियन महासङ्घ, नेपालका अध्यक्ष सिबी गहतराजले जानकारी दिनुभयो ।
येशुको जन्मोत्सवको उपलक्ष्यमा क्रिश्चियन धर्मावलम्बीले प्रभु येशुले समस्त नेपालीको कल्याण गरून् भन्ने कामनासहित देशभरका चर्चमा प्रार्थनालगायत कार्यक्रम गर्ने जनाइएको छ । हाल नेपालमा १२ हजार ५०० चर्च र ३० लाख भन्दा बढी क्रिश्चियन धर्मावलम्बी रहेको उहाँले बताउनुभयो ।
हर्षोल्लासका साथ साताव्यापीरूपमा विश्वभर मनाइने ख्रीष्टमसकोे अवसरमा महासङ्घले सम्पूर्ण नेपालीमा प्रेम, शान्ति, एकता, भाइचारा, सुख एवं समृद्धिका लागि प्रार्थना गरेको छ । साथै गे्रगोरियन पात्रो अनुसारको नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा सबै नेपालीलाई शुभकामना व्यक्त गरेको छ ।
राष्ट्रपतिद्वारा शुभकामना सन्देश
राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मालम्बीहरूको महानपर्व ‘क्रिसमस डे’का अवसरमा आज एक शुभकामना सन्देश दिनु हुँदै स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी नेपाली सबैको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता कायम भएको मुलुक भएको भन्दै बहुमूल्य सम्पदाको रूपमा रहेका चाडपर्व र संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख छ । ‘क्रिसमस डे’लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको पनि सन्देशमा उल्लेख छ । यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने पनि उहाँले कामना गर्नुभएको छ ।
उपराष्ट्रपतिद्वारा शुभकामना व्यक्त
उपराष्ट्रपति नन्दबहादुर पुनले इसाई धर्मावलम्बीको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ ।
आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र भएको उल्लेख गर्नुभएको छ । संविधानले सबै प्रकारका धर्म संंस्कृतिप्रति आस्था राख्न र त्यसको संरक्षण एवं सम्बद्र्धन गर्न पाउने अधिकार प्रत्याभूत गरेको भन्दै उहाँले कसैलाई करकाप वा प्रलोभनमा पारी धर्म परिवर्तन गर्न वा गराउन नपाइने सन्देशमा उल्लेख छ ।
विविधतायुक्त धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको बताइएको छ । विभिन्न धर्म संस्कृति मान्ने सम्पूर्ण नेपालीका बीच आपसी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम हुँदै आएको र यस पर्वले सिङ्गो नेपाली जनताको एकता र सहकार्यलाई सुदृढ बनाउने सन्देशमा उल्लेख छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा हुने गरी प्रगति पथमा अघि बढ्न हामी सबैलाई ऊर्जा प्रदान गर्ने विश्वाससमेत व्यक्त गरिएको छ ।
‘क्रिसमस डे’मा प्रधानमन्त्रीको पनि शुभकामना
प्रधानमन्त्री केपी शर्मा ओलीले इसाई धर्मावलम्बीहरुको महान पर्व ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश दिनुहुँदै स्वदेश तथा विदेशमा रहनुभएका इसाई धर्मावलम्बीहरुमा सुस्वास्थ्य, दीर्घायु, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।
बुधबार एक संन्देश जारी गदै उहाँले बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो सुन्दर देशमा यस्ता विशेषताहरु मौलिक पूँजीको रुपमा रहेका छन् । एकता र सहिष्णुताको यस पूँजीलाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने उल्लेख गर्नु भएको छ ।
‘विभिन्न धर्म र संस्कृतिमा आधारित यस्ता पर्वहरु हाम्रो राष्ट्रिय एकता, पारस्परिक सद्भाव र सहिष्णुताका मौलिक पहिचान हुन् । नेपालको संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै यहाँ विभिन्न भाषा, लिपि, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ । लोकतन्त्र, समाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, राष्ट्रिय अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुशरण गरिने अक्षुण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता हो । यस विशेषतालाई आत्मसात गर्दै हामी समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने अभियानमा छौं ।’ प्रधानमन्त्री ओलीको सन्देशमा उल्लेख छ।




















