काठमाडौं । उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्दै समाजवादी पार्टीका अध्यक्ष एवं ससदीय दलका नेता उपेन्द्र यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका हुन् ।
पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने ‘संविधान संशोधन गर्न सरकारमा गए पनि त्यो प्रक्रियामा प्रधानमन्त्री ओली बाधक बनेपछि सरकारमा बस्नुको औचित्य नभएको भन्दै ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएका हौँ ।’
पार्टी अब प्रतिपक्षमा रहेर संविधान संशोधनका लागि दवाव दिने बताएका छन् । उनले संविधान संशोधन गरेर सबैको संविधान बनाउनु पर्ने बताए । पत्रकार सम्मेलनमा यादवले भने ‘समाजवादी पार्टीले नेकपाको सरकारलाई दिँदै आएको समर्थन फिर्ता लिएको छ । अब समाजवादीले प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय गरेको जानकारी गराउँछु ।’ यादवले भने, ‘अंक गणितको हिसाबले उहाँहरुलाई असर नपरे पनि राजनीतिक मूल्य र मान्यताले नेकपा सरकारलाई ठूलो हलचल आइसकेको छ।’
समाजवादीले समर्थन फिर्ता लिएसँगै केपी ओली नेतृत्वको वर्तमान सरकारले दुई तिहाइ बहुमत गुमाएको छ। समाजवादी पार्टी मंगलबार सरकारबाट बाहिरिएको थियो ।


























