वासिङटन, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्तर्राष्ट्रिय दूरसञ्चार नीतिको विशेष प्रतिनिधिका रूपमा रोबर्ट ब्लेयरलाई नियुक्त गर्नुभएको ह्वाइट हाउसले जनाएको छ ।
सोमबारको निर्णयअनुसार ब्लेयरलाई अमेरिकी फाइभ–जीको बजार बिस्तार प्रयासमा सहयोगका लागि उहाँलाई प्रतिनिधि तोकिएको ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ब्लेयरले राष्ट्रपतिको सहयोगी तथा ह्वाइट हाउसका कर्मचारी प्रमुखको वरिष्ठ सल्लाहकारका रूपमा सम्हाल्दै आएको जिम्मेवारीलाई पनि निरन्तरता दिनुहुनेछ, विज्ञप्तिमा भनिएको छ ।
ब्लेयरले अमेरिका राष्ट्रपतिको कार्यालयको कर्मचारी प्रमुखका वरिष्ठ सल्लाहकारको हैसियतमा राष्ट्रपति ट्रम्पमाथि यूक्रेनसँगको सम्बन्धका विषयमा अमेरिकी कङ्ग्रेसको तल्लो सभा ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ मा राष्ट्रपतिमाथिको महाअभियोग प्रस्ताबका लागि लगाइएको आरोपबारे सशक्त प्रतिवाद गर्नुभएको थियो । उहाँले आरोपबारे अनुसन्धानकर्ताहरूलाई ट्रम्पको तर्फबाट जवाफ पेश गर्नुभएको थियो ।
ह्वाइट हाउसमा नियुक्त हुनभन्दा पहिले उहाँले रक्षा कार्यक्रमअन्तर्गत व्यवस्थापन तथा बजेट उपनिर्देशकका रूपमा जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँले ‘हाउस अफ रिप्रिजेन्टेटिभ’ अन्तर्गत विनियोजन समितिको कर्मचारीका रूपमा एक दशकभन्दा बढी काम गर्नुभएको थियो । (रासस÷सिन्ह्वा)