काठमाडौं । उपेन्द्र यादवले प्रस्ताव गरेको संविधान संशोधन रोकिँदा नेपाल कम्युनिष्ट पार्टी (मसाल) खुशी भएको छ । सो पार्टीका महामन्त्री मोहनविक्रम सिंहले एक विज्ञप्ति प्रकाशित गर्दै आफ्नो पार्टीले संविधानमा संशोधन गर्ने सहमति सहित उपेन्द्र यादवलाई सरकारमा सामेल गरेकोमा त्यतिबेलै सरकारको कडा आलोचना गरेको स्मरण पनि गराएको छ ।
आवश्यकतानुसार संविधानमा संशोधन गर्ने कुरामा हाम्रो कुनै मतभेद नभएको स्पष्ट पार्दै महामन्त्री सिंहले संविधानमा त्यसरी संशोधन गर्दै जानु पर्ने तर मधेशवादीहरूले जसरी संविधानमा संशोधन गर्न खोजेका छन्, ती राष्ट्रघाती प्रकारका रहेको उल्लेख गरेका छन्
संविधानमा संशोधनको सहमतिलाई कार्यान्वयन नगरेको भनेर उपेन्द्र यादवले सरकारबाट राजिनामा दिएका छन् । यादवले मन्त्रीमण्डलमा लगेको प्रस्तावलाई प्रधानमन्त्री ओलीले अस्वीकार गरेकोमा मसालले प्रधानमन्त्री ओलीलाई धन्यवाद पनि दिएको छ । महामन्त्री सिंहले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘हामीले आशा गर्दछौँ त्यही प्रकारले राजपाले संविधानमा संशोधनका लागि गर्ने कुनै पनि प्रकारको दवावलाई पनि उनले अस्वीकार गर्दै जानेछन् ।’
























