काठमार्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदुत मञ्जिव सिंह पुरीले भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगेर राजदुत पुरीले प्रधानमन्त्री ओलीसँग बिदाइ भेट गरेका हुन् ।
कार्यकाल पूरा गरी भारत फर्किन लागेका राजुदुत पुरीको नेपाल बसाइको समय ऐतिहासिक हिसाबले प्रभाव पार्ने काम अघि बढेको चर्चा गरिएको थियो । राजदुत पुरीको कार्यकालमा ढल्केवर प्रसारण लाइन,रक्सौल अमलेखगन्ज पाइपलाइन, हुलाकी राजमार्गले गतिलिएको थियो ।
भेटमा प्रधानमन्त्री ओलीले राजदूत पुरीको कार्यकालमा धेरै क्षेत्रमा ऐतिहासिक हिसाबले प्रभाव पार्ने काम भएको भन्दै उनको प्रसंसा गर्नुभएको थियो । भेटमा सीमा समस्या समाधानको बिषयमा छलफल अघि बढिरहेको बारे कुराकानी भएको प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भटराईले बताएका छन् ।
राजदुत पुरी तीन वर्षे कार्यकाल सकेर जनवरी २ तारिकमा स्वदेश फर्किदै छन् । उनी सन् २०१७ मार्चमा नेपाल आएका थिए ।
सीमा समस्या समाधानका लागि वार्ता गर्न भारत तयार
यसैवीच भारतले कालापानी क्षेत्रको सीमामा समस्या रहेको स्विकार्दै त्यसलाई समाधान गर्न तयार रहेको पत्र नेपाल सरकारलाई पठाएको छ । भारतले आफ्नो भूभाग दाबी गर्दै नयाँ नक्सा जारी गरेपछि नेपाल सरकारले कुटनीतिक नोट पठाउनुका साथै वार्ताको प्रस्ताव समेत गरेको थियो ।
नेपालले पत्र पठाएको एक महिनापछि भारतले ‘रेस्पोन्स’ गरेको हो । ‘सीमाको ९८ प्रतिशत समस्या समाधान भएको छ, कालापानी र सुस्ता क्षेत्रको समस्या सल्टाउन तयार छौँ,’ पत्रमा भनिएको छ । भारतले सीमा समस्या समाधानको लागि सचिवस्तरीय सयन्त्रमा वार्ता गर्ने जनाएको छ ।




















