काठमाडौं । चन्द्रागिरि नगरपालिका–१२, गुर्जुधारामा गाडीको ठक्करबाट पर्वत ठूलेपोखरी गाउँपालिका–४ स्थायी घर भई चन्द्रागिरी नगरपालिका–७, थानकोट चेकपोस्ट बस्दै आएका अर्जुन कुमार केसीको आज बिहान मृत्यु भएको छ । छोरालाई मोटरसाइकलमा राखेर स्कुल पुर्याउन गएका केसीको मृत्यु भएको र छोरा घाइते भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार घाइते छोराको ओम समाज हस्पिटलमा उपचार भइरहेको बताइएको छ । सवारी साधनबारे कुनै जानकारी नभएको र सडकको सिसिटिभी फुटेज चेकजाँच भइरहेको महानगरीय प्रहरी बृत्त थानकोटले जनाएको छ ।
स्थानीय र मृतकका आफन्तले ठक्कर दिने सवारी साधन पता नलगाएसम्म शव उठाउने बताएका छन् भने चालकलाई कारबाहीको माग गरेका छन् ।
घटनास्थलमा तनावग्रस्त बनेको छ । त्यहाँ ठूलो मात्रामा प्रहरी परिचालन भएका छन् ।



















