काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायु सेवा निगमलाई ए ३२० उडान विशिष्टिकरण मापदण्ड ‘क्याटोगरी’ दुई प्रमाणीकरण तथा ‘ए ३२० रिडुज्य नेभिगेसन पर्फरमेन्स अथोराइज्ड रिक्वायर्ड अपरेशन’ को अन्तिम ‘अथोराइजेसन’ अर्थात यससम्बन्धी अधिकार प्रदान गरेको छ ।
उक्त अधिकार पाएसँगै निगमको उडान आधुनिकीकरण योजनालाई सघाउने र उडान सुरक्षालाई थप गुणस्तर बनाउन मद्दत पुग्ने निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिनुभयो । “नेपाल वायुसेवा निगमद्वारा सञ्चालित ए ३२० र ए ३३० को रिडुज्ड भर्टिकल सेपेरसन मिनिमा तथा इलेक्ट्रिक फ्लाइट ब्याग नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत भइसकेको छ”, निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “हालै ए ३२० को अपरेसन्स स्पेसिफिकेशनमा स्टाण्डर्ड क्याटोगोरी दुई एप्रोभल तथा ए ३२० रिडुज्ड नेभिगेशन पर्फमेन्श–एथोराईजेशन रिक्वायर्ड अपरेसन्सको इन्ट्रिम एथोराइजेशन पनि निगमलाई प्राप्त भएको छ ।”
साधारणतया विमान इन्ट्रमेन्ट ल्याण्डिङ्ग सिस्टम क्याटोगोरीमा अवतरण गर्ने गर्दछन् । यसअनुसार जहाज अवतरण गर्नका लागि पाइलटले कम्तीमा २०० फिट माथि ग्राउण्ड लेभलमा ल्याण्ड गर्ने वा ‘गो एराउण्ड’ गर्ने निर्णय लिनुपर्ने हुन्छ र सोही अप्रोन गर्न ५५० मिटर भिजिबिलिटिको आवश्यकता पर्दछ । तर क्याट दुई अथोराइजेसन प्राप्त गरेपछि निर्णय गर्ने उचाइ १०० फिटमा घट्ने निगमले जनाएको छ ।
निगमका सह–प्रवक्ता मिश्रले यसले उडानको १०० फिट उचाइ तथा कम भिजिबिलिटीमा पनि जहाज अवतरण गर्न सक्ने क्षमता हुने बताउनुभयो । माथि उल्लिखित प्राधिकरणको स्वीकृति हालसालै प्राप्त भएकाले काठमाडौँका हकमा आरएनपी–एआर तथा अन्य अन्तरराष्ट्रिय उडानमा क्याट दुई आइएलएसको उपयोग गर्दै निगमका उडान अझै बढी नियमित तथा समयमा नै सञ्चालन हुने बताइएको छ । खराब मौसमको प्रभावबाट हुन सक्ने उडान रद्द, होल्डिङ र डाइभर्सन जस्ता अप्ठयारा न्यूनीकरण हुनेछन् ।
यसैगरी निगमको ए ३३० जहाजको क्याट दुई तथा आरएनपी–एआर एप्रोभल पनि प्राधिकरणबाट स्वीकृति प्राप्त गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको निगमले विज्ञप्तिमा उल्लेख गरेको छ । यस प्रक्रिया निकट भविष्यमा नै सम्पन्न गरी ए ३३० जहाजको उडानलाई समेत अझै नियमित र प्रभावकारी रुपमा सञ्चालन गर्ने योजनाअनुसार काम भइरहेको निगमले जनाएको छ ।