वासिङ्टन, अफ्रिकामा सबैभन्दा छिटो आर्थिक सुधार गर्नेमध्ये एक उत्तरपूर्वी अफ्रिकी मुलुक इथियोपियालाई अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा २.९ अर्ब अमेरिकी डलर सहयोग रकम दिने निर्णय गरेको छ ।
इथियोपियालाई आर्थिक सुधारका लागि सहयोगस्वरूप शुरूमा ३० करोड ८० लाख ४० हजार अमेरिकी डलर तत्काल उपलब्ध गराइने मुद्रा कोषद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
“कार्यक्रमले इथियोपियाका सरकारी अधिकारीद्वारा महत्वाकांक्षी सुधारका योजनालाई सहयोग गर्ने लक्ष्य लिएको छ,” कोषका प्रथम उप–प्रबन्ध निर्देशक ड्याभिड लिप्टनले बताउनुभयो ।
उक्त सहयोग वैदेशिक मुद्राको अभावलाई सहज गर्न र राज्य सञ्चालित उद्योगहरू सञ्चालनका साथै वित्तीय स्थायित्व प्रत्याभूत गर्न प्रयोग हुने विज्ञप्तिमा छ । लिप्टनले भन्नुभयो, “विगत एक दशकदेखि इथियोपियाको आर्थिक सुधार तीब्र भएको र यसबाट यहाँको गरिबी नियन्त्रण तथा जीवनशैली सुधारमा प्रशंसनीय रहेको र सार्वजनिक क्षेत्रमा भएका लगानी नै यसका आधार भएका छन् ।”
इथियोपियाको सरकारले गत हप्ता मात्रै सरकारको महत्वाकांक्षी आर्थिक सुधार कार्यक्रमका लागि विदेशी सहयोगदाताहरूबाट नौ अर्ब अमेरिकी डलर सहयोगको प्रतिवद्धता आएको र यसले देशको अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान पुग्ने बताएको थियो । (रासस/एएफपी)