काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटीको बैठक पुस २३ गते बस्ने भएको छ । पार्टी एकताको २० महिनापछि (नेकपा)को केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । ३ जेठ २०७५ मा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो । आइतबार सकिएको स्थायी कमिटीको बैठकले केन्द्रीय कमिटी बैठक पुस २३ गते बोलाउने निर्णय गरेको बताइएको छ ।
स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जनसहिहत पारित गरेको छ । महासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव भने केन्द्रीय कमिटीमा लैजाने निर्णय भएको बताइएको छ ।
पार्टी एकतापछि निर्वाचन आयोगमा हस्ताक्षर बुझाउन र परिचय तथा शपथग्रहणका लागि एकचोटि बैठक बसेको थियो । त्यसयता बैठक बस्न सकेको छैन । तर, पार्टी विधानमा केन्द्रीय कमिटी बैठक प्रत्येक ६ महिनामा बस्ने व्यवस्था छ ।
स्थायी कमिटी बैठकमा सदस्यहरूले केन्द्रीय कमिटी बोलाउन माग गरेपछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको सल्लाहमा बैठक बस्न लागेको हो । ४ सय ४५ जना केन्द्रीय सदस्य रहेको केन्द्रीय कमिटी बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन प्रस्तुत हुने बताइएको छ । यस्तै, विधान संशोधन, पार्टीको एकता महाधिवेशनलगायतका विषयमा समेत गम्भीर छलफल हुने नेकपाले जनाएको छ ।
स्थायी कमिटी बैठकमा सदस्यहरूले सचिवालय कमिटीमा महिला सदस्य थप्नुपर्ने प्रस्ताव अस्वीकार गरिएको छ । बैठकमा अष्टलक्ष्मी शाक्य, पम्फा भुसाललगायतका नेताहरूले सचिवालय सदस्यमा महिला सदस्य थपेर समावेशी बनाउनुपर्ने माग गरेका थिए ।
यस्तै, नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले समेत सचिवाल कमिटीमा तत्कालीन एमालेका उपाध्यक्ष भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, उपमहासचिव घनश्याम भुसाललगायतलाई थप्नुपर्ने माग गर्दै आएका छन् । नेकपाको सचिवालय ९ सदस्यीय रहेको छ ।
स्थायी कमिटी बैठकमा बोल्दै नेकपा अध्यक्ष दाहालले पार्टी र सरकार सञ्चालनका सम्बन्धमा सदस्यहरूले दिएको सल्लाह, सुझाव एवं आलोचनालाई स्वागत गर्दै धन्यवाद दिएका छन् ।

























