काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ । बुधबार वैठक नबसी शुक्रबार १ बजे बस्ने गरी स्थगित भएको थियो । तर आज पनि वैठक नबसी पुस १० गतेसम्मका लागि स्थगित भएको छ ।
बैठक पुस १० गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिएका छन् । आजदेखि संसद शुरु हुने भएको र नेताहरु जिल्ला बाहिर जाने कार्यक्रम रहेले बैठक स्थगित गर्नु परेको मुख्यसचिव पौडेलले बताएका छन् । तर गत बिहीवारदेखि नै वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला पक्षले असन्तुष्टि जनाउँदै वैठक वहिस्कार गर्दै आएको र हालसम्म पनि सहमति हुन नसकेका कारण वैठक सार्नु परेको कांग्रेस स्रोतले बताएको छ ।
कांग्रेसमा देउवा, पौडेल, सिटौला पक्षबीच १४ औं महाधिवेशनको कार्यतालिका विभागहरुको संख्या र नियक्तिका साथै भ्रातृ संगठनको गठनलगायतका विषयमा विवाद छ । पौडेल–सिटौला पक्षले महाधिवेशनको कार्यतालिका यही वैठकमा पेश गर्नुपर्ने, विभागहरुको संख्या थप्न नहुने र भ्रातृ संगठनहरुमा आफ्नो पक्षलाई ४० प्रतिशत दिनुपर्ने माग गर्दै आएका छन् ।
विवाद मिलाउन नेताहरू सक्रिय भएपनि दुवै पक्षको अडान यथावत रहेकाले वैठक स्थगित भएको बुझिएको छ । केन्द्रीय सदस्यको संख्या थप्ने, विभागहरु बढाउने र विधानलाई निस्क्रिय वनाउँदै आफ्नो कार्यकाल एक वर्ष बढाउन पार्टी सभापति देउवाले षडयन्त्र गरिरहेको पौडेल पक्षको आरोप लगाएको छ भने देउवा पक्षले त्यसलाई प्रतिष्ठाको विषय बनाएको छ ।
विधानले २८ वटा विभागको परिकल्पना गरेको भएपनि देउवा ४१ वटा पुर्याएका छन् भने आफू निकट नेतारुलाई मनोनित गर्न केन्द्रीय सदस्यको संख्या पनि थप्ने रणनीतिमा सभापति देउवा लागेका छन् । पौडेल–सिटौला पक्षको असन्तुष्टिका बीच देउवाले पेलेर अघि बढ्न खोजेपछि पौडेल पक्ष थप क्रुद्ध बनेको छ ।
अहिले भएकै विभागलाई यथावत राख्नुपर्ने र प्रमुख चार विभागमा आफूले पनि भाग पाउनुपर्ने कृष्णप्रसाद सिटौला पक्षको माग छ । कांग्रेसमा संगठन विभाग, प्रचार विभाग, विदेश विभाग र जनसम्पर्क विभागलाई अत्यन्त महत्वपूर्ण मानिरहेका छन् ।
























