काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
समसामयिक विषयमा प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका नेतासँग भेटवार्ता गर्नुभएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
सभापति देउवा केन्द्रीय सदस्य रमेश लेखकलाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार गएका थिए । भेटमा देउवाले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे चासो राखेका थिए भने संवैधानिक परिषदसम्बन्धी विवादास्पद विधेयक नल्याउन आग्रह गरिएको नेता लेखकले बताएका छन् । नेता लेखकले केन्द्रीय समिति बैठकले गरेको निर्णयअनुसार विवादास्पद अध्यादेश वा कुनै पनि विधेयक नल्याउन आग्रह गरिएको बताएका छन् ।
सरकारले संवैधानिक परिषदसम्बन्धी कार्यविधिलाई परिवर्तन गर्न खोजेको भन्दै कांग्रेस केन्द्रीय समिति वैठकले आपत्ति जनाएको थियो । प्रमुख एवं पदाधिकारी नियुक्ति एकलौटी ढंगले गर्न मिल्ने गरी गरिने परिवर्तन स्वीकार्य नहुने चेतावनी कांग्रेसले यसअघि नै दिइसकेको वताउँदै लेखकले आज प्रधानमन्त्रीसँगको भेटमा पनि सोही कुरा भएको जानकारी दिएका छन् ।
























