काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसि स्थगित भएको छ । १ बजेका लागि वैठक डाकिएको थियो । तर वरिष्ठ नेता रामचन्द्र पौडेल र अर्का नेता कृष्णप्रसाद सिटौला पक्ष उपस्थित नभएपछि बैठक स्थगित गरेर आगामी शुक्रवार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको बताइएको छ ।
केन्द्रीय समिति बैठकमा नगएका पूर्वमहामन्त्री सिटौला र बरिष्ठ नेता पौडेलबीच बुधबार दिउँसो छलफल भएको थियो । पौडेल भेट्न सिटौला उनकै निवास बोहराटार पुगेका थिए ।
बरिष्ठ नेता पौडेल र सिटौलाले १४ औं महाधिवेशनको कार्यतालिका अहिले नै जारी गर्नुपर्ने अडान राखेका छन् । सभापति शेरबहादुर देउवाले महाधिवेशन गर्ने प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा नल्याएसम्म बैठकमा सहभागी नहुने अडानमा पौडेल–सिटौला समूहले राखेका छन् । तर देउवा पक्ष भने अहिले नै महाधिवेशनको कार्यतालिका नल्याउने पक्षमा देखिएको छ । पार्टीका विभाग र भ्रातृ संगठनहरुको गठन गर्ने र आफ्नो पक्ष बलियो बनाएर एक वर्ष कार्यकाल थप्ने पक्षमा देउवा देखिन्छन् ।
सभापति देउवा पक्षले समायोजनको काम पूरा नभएकोले अहिले नै कार्यतालिका ल्याउन नसकिने अडान राखेको छ । देउवा पक्ष २०७७ फागुनमा महाधिवेशन गर्नेमा सहमत देखिन्छ । तर पौडेल पक्षले आउँदो मंसीरमै महाधिवेशन गर्नुपर्ने पर्ने र त्यसका लागि अहिले नै कार्यतालिका प्रकाशित गर्नुपर्ने पक्षमा छन् ।
गत बिहीबार सभापति देउवाले पार्टीका २८ विभाग बढाएर ४१ पु¥याउनेलगायतका ९ एजेन्डा छलफलका लागि केन्द्रीय समितिमा पेश गरेका थिए । तर पौडेल पक्षले महाधिवेशन गर्ने बेलामा विभाग बढाउनु अर्थहीन हुने बताइरहेको छ । देउवाले पौडेल र सिटौलालाई वैठकमा सहभागि गराउन आफूले समेत छलफल गर्नुका साथै नेताहरुलाई दिनहुँ वार्ताका लागि खटाइरहेका छन् । तर पौडेलको अडान महाधिवेशन नै रहेकाले देउवा अप्ठ्यारोमा परेका छन् ।
























