काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभाका सदस्यहरुको निर्वाचन तालिका सार्वजनिक गरेको छ । माघ ९ गते हुने निर्वाचनको लागि आयोगले आज तालिका सार्वजनिक गरेको हो ।
आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा ६ अनुसार बुधबार निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रमअनुसार पुस १७ गते मतदाता नामावली प्रकाशन गरिने भने पुस २० गते उम्मेदवारी दर्ता हुने भएको छ ।
दाबी विरोधलगायतका प्रक्रिया पूरा गरेपछि २५ गते उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरिने आयोगले जनाएको छ । त्यही दिन निर्वाचन चिह्न प्रदान गरिने पनि बताइएको छ ।
७५३ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ५५० प्रदेशसभा सदस्य राष्ट्रियसभा सदस्य निर्वाचनको मतदाता रहनेछन् । उनीहरुको मतभार भने फरकफरक हुन्छ । स्थानीय तहका पदाधिकारीले दिने मतको भार १८ छ भने प्रदेशसभा सदस्यको ४८ हुनेछ ।
राष्ट्रियसभाका नेकपाका ८, कांग्रेसका ७ र राजपाका २, समाजवादीका एकजना र सरकारबाट मनोनित एकजना गरी १९ सांसदको दुईवर्षे कार्यकाल फागुन २१ मा सकिँदैछ । संविधानअनुसार सदस्य पद रिक्त हुनुभन्दा ३५ दिनअघि निर्वाचन भइसक्नुपर्छ ।
नेकपाबाट हरिचरण शिवाकोटी, बलराम बास्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर, कमलाकुमारी ओली, कालिबहादुर मल्ल र खेमराज नेपालीको कार्यकाल सकिँदैछ भने कांग्रेसबाट राष्ट्रिय सभामा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे, सचेतक सरिता प्रसाईं र विन्दादेवी आले, बद्री पाण्डे, मुक्ताकुमारी यादव, दुर्गाप्रपसाद उपाध्याय र धनकुमारी खतिवडाको कार्यकाल सकिँदैछ ।
राजपाका वृशेषचन्द्र लाल र रमेशप्रसाद यादव तथा समाजवादीका रामप्रित पासवानको पनि २ वर्षको कार्यकाल सकिँदैछ । यस्तै, सरकारबाट मनोनित भएका अर्थमन्त्री युवराज खतिवडाको पनि कार्यकाल पूरा हुँदैछ । माघ ९ गते १८ जनाका लागि निर्वाचन हुने छ भने एक जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने छन् ।


























