काठमाडौं, । गत मंसिर १४ गते भएको उपनिर्वाचनमा कास्की २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले मंगलवार पद तथा गोपनियताको शपथ लिएकी छन् । उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले संसद सचिवालयमा आयोजित एक समारोहमा भट्टराईलाई शपथ गराएकी हुन् ।
सभामुख नभएका कारण उपसभामुखबाट पहिलो पटक सांसदले शपथग्रहण गरेको संसद सचिवालयले जनाएको छ । नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी हुन् । ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि उनको स्थानमा पत्नी भट्राईलाई नेकपाले उम्मेदवार बनाएको थियो ।
कांग्रेसका खेमराज पौडेललाई भारी मत अन्तरले पराजित गर्दै विद्या विजयी भएकी थिइन् । विद्याले कांग्रेस उम्मेदवार खेमराजलाई आठ हजार चार सय तीन मतअन्तरले जितेकी थिइन् । विद्या २४ हजार तीन सय ९४ मत ल्याएकी थिइन् ।
तत्कालीन नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय सचिवसम्म भएकी भट्टराई पछिल्लो समय प्राध्यापन पेशामा आबद्ध थिइन् । उनी २० वर्षपछि सांसद बनेर पुनः राजनीतिमा फर्किएकी छन् ।
सपथग्रहणपछि पत्रकारहरुसँग कुरा गर्दै सांसद भट्टराईले संविधानले निदृष्ट गरेअनुसार संसदमा आफ्नो भूमिका रहने भन्दै तीन वर्षमा नीति निर्माण र विकास निर्माणका काम पूरा गर्ने प्रतिवद्धता जनाएकी छिन् । उनले जनतामाझ गरेका प्रतिवद्धता पूरा गरेरै छाड्ने बताएकी छिन् ।